काठमाडौं, रोजगारीको अवसर स्वदेशमा नै होस् । काम गर्ने उमेरकाहरुले मातृभूमिमा नै आफ्नो श्रम, सीप, बल बर्कत लगाउने अवसर पाउन् । अर्थात रोजगारी खोज्दै परदेशको बाटो कसैले समात्नु नपरोस् । यहि कामना हुँदा हुँदै पनि धेरै बर्षसम्म मुलुकमा रोजगारीका नयाँ बाटा नकोरिएपछि नचाहेरै पनि एउटा झेला भिरेर ठूलो विमान चढ्दै पराई भूमिमा उत्रिनु नेपालीका लागि केहि दशकयताको बाध्यता हो ।
त्यसरी रोजगारीका लागि विरानो मुलुकमा उत्रिनेहरु कसैका लागि सस्ता श्रमिक र कसैका लागि ठग्ने मुख्य साधन भएका छन्। परिवारका लागि कमाउने मुख्य त्यहि मान्छेलाई नै विविध रुपमा चुसेर, ठगेर अनी बाध्यतामा पारेर आफ्नो दुनो सोझ्याउनेको कमी छैन । यो नेपालमा पनि छ र रोजगारीका लागि नेपाली पुग्ने मुलुकहरुमा पनि ।
काम गर्ने थलो सुरक्षित छैन । सुरक्षाका साधनहरु पर्याप्त छैनन् वा रोजगारीक लागि पुगेको त्यो श्रमिकलाई तिनिहरुको प्रयोगको महत्वका बारेमा पत्तै छैन । त्यसैले दुर्घटनामा परेर अंगभंग हुने र कतिपय अवस्थामा ज्यानै जानेसम्मका घटना भइरहेका छन् । एउटा नेपालीको मुत्यु कसैका लागि केवल एउटा थपिएको संख्या मात्र हुन्छ । तर त्यहि एउटा संख्या कसैको जीवनको सवैभन्दा पीडादायी क्षण । तर बर्षौंदेखि यसो भइरहँदा पनि यसो हुन नदिउँ भन्ने तर्फ धेरैको चासो र चिन्ता छैन ।
विदेशमा आपत पर्दा गुहार्ने भनेको आफ्नै दूतावास हो । तर दूतावास अभिभावक जस्तो हुन सकेको छैन । न त्यसले गन्तव्य मुलुकमा बेइमानी गर्ने कुनै मालिकलाई कानून लगाएर ठेगाना लगाउँछ न त आपतमा परेको नेपालीको सहज उद्धार नै गर्न सक्छ । त्यसैले अभिभावक अर्थात राज्यकै आँखा अघिल्तीर त्यो निरिह नेपाली कुनै टाढाको मुलुकमा थप दुःख काटेर बस्न बाध्य छ ।
हो, बैदेशिक रोजगारीका कारण गाउँमा केहि पैसा आएको छ । केहि घर पनि त बनेका छन् । बालबालिकाहरुले अलिक राम्रो पढाई हुने विद्यालयमा पढ्न पाएका छन् । त्यो व्यक्तिको परिवारको हिजोको भन्दा अलिक सुविस्ताको जीवन पनि भएको छ । नेपाल भित्रिएको पैसाको हिसाव त सजिलै निस्कन्छ । तर त्यसका लागि कमाउन विदेश पुग्नेले चुकाइरहेको आर्थिक, सामाजिक मूल्यको हिसाव निकाल्न मुस्किल छ । कुन हण्डर खेपेर उसले विदेशबाट पैसा पठाइरहेको हुन्छ वा त्यहि पैसाको निहुँमा नेपालमा परिवारबीचको कलहका कुरा अर्कै छन् ।
समस्या छन् । तर सधैं यस्तै भइरहनु हुनुहुन्न । बैदेशिक रोजगारका नाममा मान्छे ठग्नेहरुका विरुद्धमा बोल्नेहरु हुनै पर्दछ । पैसाको आडमा ठगिको बलियो संयन्त्र चलाइरहेकाहरुको कर्तुत सार्वजनिक गर्दै त्यसलाई निरुत्साहित गर्नै पर्दछ । विदेशमा अलपत्र परेकाहरुलाई कम से कम सुरक्षित रुपमा घर फर्किने वातावरण बनाउन मद्धत गर्नु पर्दछ । अनी बैदेशिक रोजगारका कारण सिर्जित अन्य समस्याहरुका बारेमा पर्याप्त छलफल गर्दै समस्या निराकरणको प्रयासमा ईंट्टा थप्ने काम गर्नु पर्दछ ।
यहि उद्धेश्य राखेर सुरु गरिएको देशपरदेश डटकमले आज एक दशक पार गरिसकेको छ । २०७१ असोज १० गते १० बजे देशपरदेश हामीले सुरु गरेका हौं । विभिन्न क्षेत्रका सयौं हाम्रा शुभेच्छुकहरुले सामाजिक सञ्जाल मार्फत एकैपटक यसको सुरुवातको घोषणा गर्नुभएको थियो जसलाई हामीले हाम्रो यात्रा प्रारम्भको घोषणा सम्झेका थियौं । र, हामी त्यहि यात्रामा कत्तिपनि विचलित नभई निरन्तर अगाडी बढीरहेका छौं ।
हामीले यसबीचमा बैदेशिक रोजगारले निम्त्याएको सामाजिक समस्याको पक्षमा ओझेलमा परिरहेको विषयलाई सार्वजनिक छलफलमा ल्यायौं । बैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमति, छोराछोरीहरु कसरी मनोसामाजिक समस्या भोगिरहेका छन् भन्ने पाटोलाई हामीले अडियो, भिडियो मार्फत नै छलफलमा ल्याउने काम गर्यौं । बैदेशिक रोजगारमा गएर हराएका परदेशी खोज्ने अभियानमा हामीले हालसम्म ३४ जनाको भिडियो रिपोर्ट बनायौं जसमध्ये १९ जना हाल परिवारको सम्पर्कमा रहेका छन् र कतिपय स्वदेश फर्किसकेका समेत छन् । यो हाम्रा लागि आत्मसन्तोषको विषय हो । यसले पीडित परिवारको आँशु पुछ्न केहि भएपनि हामी सफल भयौं भन्ने लाग्दछ ।
बैदेशिक रोजगारमा गएर परिवन्दमा परेर जेल परेकाहरुको उद्धार, गलत रोजगारीको प्रलोभनमा फसाइएकाहरुको स्वदेश फिर्ति र न्यायिक लडाईमा पनि पीडितसँग हामी साथ साथै रह्यौं । वैदेशिक रोजगारको क्षेत्रमा देशपरदेश हुनुको अर्थ हाम्रा लागि यहि नै रह्यो ।
हो, हामी हाम्रो उद्धेश्यमा प्रष्ट छौं र आगामी दिनमा पनि यसरी नै श्रमिकको पक्षमा रहेर हाम्रो यात्रालाई अगाडी बढाइरहने छौं । हाम्रो यो यात्रामा साथ सहयोग दिने सवैमा आभार । गन्तव्य लामो छ, यो एक दशक हाम्रा सिकाईका वर्षहरु रहे । आगामी बाटो चुनौतीपूर्ण पक्कै छ तर असम्भव होइन । स्वदेशमा नै मर्यादित रोजगारी र सुरक्षित बैदेशिक रोजगारका लागि हामी निरन्तर खवरदारी गरिरहने छौं ।