काठमाडौं, जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटन उपमन्त्री इशिवासी रिनतारोले नेपाली श्रमिक मेहनती र इमान्दार भएको भन्दै उनीहरुका लागि जापानमा निर्माण, अटोमावाइल्स तथा मेण्टेनेन्सको काममा ल्याउन आफू सकारात्मक भएको बताएका छन् । जापानको औपचारिक भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
नेपाली दुतावास टोकियोमा आयोजित द्विपक्षीय भेटका क्रममा मन्त्री भण्डारीले जापानको श्रम बजारको अवस्थाको वारेमा जानकारी लिएका थिए । उनले नेपाली श्रमिकहरुलाई जापानी श्रम बजारका सम्भावित क्षेत्रहरु पहिचान गर्ने र सरल तथा सहज तरिकावाट नेपाली श्रमिकहरुलाई जापानमा अवसर खोज्ने विषयमा छलफल गरेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
यसैगरी मन्त्री भण्डारीले जापान सरकारका समकक्षी स्वास्थ्य, श्रम तथा कल्याणकारी ताकेमी केइजोसँग पनि द्विपक्षीय भेट गरेका छन् । भेटका क्रममा नेपाल र जापान सरकार बीच सन् २०१९ मा भएको ःसमझदारी कार्यान्वयनका लागि संयुक्त कार्यदलकोको वैठक बसी श्रमका विभिन्न विषयमा छलफलवाट निष्कर्षमा पुग्न आवश्यक रहेको मन्त्री भण्डारीले धारणा राखेका थिए । नेपालबाट जापानमा नेपाली श्रमिक पठाउन एसएसडव्लूको कार्यविधि स्विकृत भई कार्यान्वयनमा गएको र ईजाजतपत्रवाला संस्थाहरु वैदेशिक रोजगार विभागमा सूचीकृत भए पश्चात नेपाली दूतावास टोकियोले मागपत्र प्रमाणीकरण गरेसँगै नेपाली श्रमिक जापान जाने प्रकृया शुरु हुने जानकारी मन्त्री भण्डारीले गराएका थिए ।
यसै क्रममा नेपाल र जापान बिच सामाजिक सुरक्षाको विषयमा द्विपक्षीय एमओयू गरी सहकार्य गर्न गृहकार्य गर्ने समझदारी भयो । जापानमा रहेको श्रमिक अभाव र नेपाली श्रमिकको उपलव्धतालाई मध्यनजर गरी द्विपक्षीय सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ । यस किसिमको द्विपक्षीय भेटले नेपालमा रहेको वेरोजगारको समस्या तत्कालका लागि व्यवस्थापनमा टेवा पुग्ने र जापानी श्रम बजारमा रहेको श्रमिक अभावमा योगदान हुने जापानी मन्त्रीले धारणा राखेको विज्ञप्तीमा जनाइएको छ ।
भ्रमणको र्दारान मन्त्री भण्डारीले जापानका कानून मन्त्रीसँग पनि भेटघाट गरेका छन् । सो क्रममा मन्त्री भण्डारीले नेपाली श्रमिकलाई परेको भिसा तथा डिपेन्डेण्ट भिसा सम्वन्धी समस्यामा सहजीकरण गरिदिन र जापानी भाषा परीक्षा केन्द्रहरु बढाउन अनुरोध गरेका थिए । जापानी कानून मन्त्रीले यस विषयलाई सम्वोधन गर्न आफूले काम गर्ने विश्वास दिलाएका थिए । भेटमा जापानका लागि नेपाली राजदुत डा. दुर्गा वहादुर सुवेदी र प्रतिनिधि मण्डलका सदस्यहरुको सहभागिता रहेको थियो ।