काठमाडौ, संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ जना राजदूतहरूको नाम अनुमोदन गरेको छ । सरकारबाट १७ जना प्रस्तावित राजदूतमध्ये १२ जना सर्वसम्मत र ४ जना बहुमतले अनुमोदन भएका हुन् । श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकमा मात्र निर्णय गर्ने गरी स्थगन भएको छ । जसपाले चार जना र रास्वपाले तीनजना प्रस्तावित राजदूतलाई अनुमोदन गर्न अस्वीकार गरेका छन् ।
जसपाका तर्फबाट समिति सदस्य प्रकाश अधिकारीले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, मलेसियाका लागि प्रस्तावित नेत्रप्रसाद तिमल्सिना, भारतका लागि प्रस्तावित शंकर शर्मा र इजरायलका लागि प्रस्तावित धनप्रसाद पण्डितको नाममा फरक मत राखे । यसैगरी रास्वपाका डोलप्रसाद अर्यालले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, मलेसियाका लागि प्रस्तावित नेत्रप्रसाद तिमल्सिना र इजरायलका लागि प्रस्तावित धनप्रसाद पण्डितको नाममा फरकमत राखेका हुन् ।
यस बाहेक दक्षिण कोरियाका लागि राजदूतमा प्रस्तावित शिवमाया तुम्बाहाङ्फे, रुसका लागि जंगबहादुर चौहान, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रीता धिताल, जर्मनीका लागि डा. शैल रूपाखेती, डेनमार्कका लागि सुम्निमा तुलाधर, चीनमा प्रा. कृष्णप्रसाद ओली, साउदी अरबमा नरेशविक्रम ढकाल, कतारमा रमेशचन्द्र पौडेल, स्पेनमा सलिन नेपाल, बेलायतमा चन्द्रकुमार घिमिरे र अमेरिकामा लोकदर्शन रेग्मीलाई समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।