काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार विभागको सेवा सातवटै प्रदेशमा पुर्याउने तयारी भइरहेको बताएका छन् । उनले विभागको सेवा न्यूनतम रुपमा प्रदेशस्तरबाट दिनेगरी मन्त्रालयले तयारी गरिरहेको बताए ।
पौरखी नेपालको २२ औं साधारणसभा तथा ८ औं महाधिवेशनमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री भण्डारीले वैदेशिक रोजगार सम्वन्धी मागका बारेमा स्थानीय तहबाट नै जानकारी पाउने वातावरण बनाइने पनि बताए । त्यसो गर्न सक्दा हाल रहेको विचौलियाको समस्या न्यूनिकरण हुने भन्दै मन्त्री भण्डारीले पालिकाहरुमा रहेका रोजगार सेवा क्ेन्द्रलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै मन्त्री भण्डारीले घरेलु श्रम गर्न जाने महिलालाई लाग्दै आएको बन्देजले समस्या निम्त्याइरहेको र त्यसलाई हटाउन आफूले प्रयास गरिरहेको बताए । संसदिय समितिले दिएको ७ बुँदे निर्देशनले अप्ठ्यारो पारिरहेको, हाल गृहमन्त्री, परराष्ट्रमन्त्री लगायत बन्देज हटाउने विषयमा सकारात्मक रहेको भन्दै उनले नागरिक समाजका तर्फबाट पनि थप पहलको आवश्यकता औंल्याए । संसदिय समितिको निर्देशन अनुसार गन्तव्य मुलुकहरुसँग द्धिपक्षिय श्रम सम्झौता गर्ने पहल नेपाल सरकारले गरिरहेको जानकारी गराउँदै उनले जहाँ श्रमिकको सम्मान हुन्न त्यस्ता मुलुकहरुमा भनें श्रमिक पठाउन नहुने तर्फ सरकार सचेत रहेको धारणा राखे ।
सो अवसरमा बोल्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले विदेशमा जोखिममा परेका र उद्धार गरिएका महिलाको पुनस्र्थापना चुनौतिपूर्ण रहेको बताइन् । महिलाका लागि कम्तीमा ७ वटै प्रदेशमा सुरक्षित आवास गृहको व्यवस्था गर्नुपर्नेमा जोड दिंदै पराजुलीले वैदेशिक रोजगारमा जानेहरुलाई स्थानीय पालिकाहरुमा नै दर्ता गर्नुपर्ने खाँचो औल्याइन ।
सो अवसरमा पौरखी नेपालकी रणनीतिक सल्लाहकार मञ्जु गुरुङले वैदेशिक रोजगारमा गएका महिलाको योगदानलाई राज्यले गणना नगरेको गुनासो गरिन् । जसको सवाल उसैको नेतृत्व भन्ने सिद्धान्त अनुसार पौरखी नेपाल स्थापना गरिएको बताइन् । उनले हाल पौरखी नेपालका शाखाहरु २१ वटा जिल्लाहरुमा कृयाशिल रहेको बताउँदै क्षेत्रीय र अन्तराष्ट्रिय सञ्जालहरुमा पनि पौरखी नेपालको महत्वपूर्ण उपस्थिति रहेको जानकारी दिइन् ।
सो अवसरमा लैगिक अधिकार तथा निति विशेषज्ञ चाँदनी जोशीलाई सम्मान गरिएको थियो ।