काठमाडौं, सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था गरेतापनि अझै सो अधिकार प्राप्त नभएको भन्दै गैरआवासीय नेपाली संघले सरकारको ध्यानाकर्षण गराएको छ । संविधान अनुसार गैरआवासीय नेपालीहरुले नागरिकता प्राप्त गरिरहेको भएपनि त्यसमा उल्लेखित अधिकारहरु प्राप्त नभएको संघले जनाएको छ । गैरआवासीय नेपाली नागरिकता लिने क्रममा सम्बन्धित निकायहरुमा अझ केही अस्पष्टता देखिएकोले नागरिकता लिनको लागि समस्या भएको र नागरिकता प्राप्त गरिसकेपछि पनि सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको पूर्ण प्रयोग गर्न नपाइएको संघका अध्यक्ष डा. बद्री केसीले बताए ।

यहि समस्यालाई मध्यनजर गर्दै संघले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो अन्तरक्रियामा गृहमन्त्री रमेश लेखक, संविधानसभा सदस्यहरु वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, डा. खिमलाल देवकोटा, राष्ट्रिय सभाका पूर्व सदस्य राम नारायण बिडारी, पूर्व महान्यायधिवक्ता अग्नि प्रसाद खरेल लगायत सहभागि थिए ।

छलफलमा बोल्दै गृहमन्त्री लेखकले सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखा परेका समस्या समाधान गर्दै सम्बन्धित निकायमा छिट्टै आवश्यक परिपत्र गर्ने प्रतिबद्धता जनाए । अरु वक्ताले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका कानूनी अड्चन हटाउन सक्दो पहल गर्ने बताएका थिए । कार्यक्रममा संघका अध्यक्ष डा. केसीले ठूलो संघर्षपछि सरकारले नागरिकता प्राप्तीको लागि बाटो खुला गरेको भएपनि सम्बन्धित निकायमा समयमै परिपत्र नहुँदा समस्या भोग्नुपरेको बताए ।

अन्तरक्रियामा नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधान गर्नुपर्ने विषयहरुमा छलफल गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय