काठमाडौं, मलेसियामा उपलव्ध सामाजिक सुरक्षा कार्यक्रम, सोक्सोले आप्रवासी श्रमिकको २४ घण्टे बीमा सुविधा उपलव्ध गराउन थालेको छ । सो सुविधा थपिएसँगै सोक्सोमा आवद्ध कुनै श्रमिक दुर्घटनामा परेमा उपचार तथा कारणवस मृत्यु भएमा शव नेपाल फर्काउन सोक्सोले रकम उपलव्ध गराउने छ ।
मलेसियाको चर्चित अनलाइन द स्टारका अनुसार मलेसियाका मानव संशाधन मन्त्रीले गत मे महिनामा नै यस्तो सुविधा आप्रवासी श्रमिकका लागि थपिने घोषणा गरिसकेका थिए । यसैगरी सोक्सोले घरेलु श्रमिकलाई पनि समेटेको छ ।
सोक्सोमा सुविधा थपिएसँगै यसले रोजगारादाताहरुलाई बार्षिक १४ करोड रिंगिट रकम थप दायित्व पर्ने समाचारमा जनाइएको छ । तर सोक्सोका कार्यकारी निर्देशक डा. मोहम्मद अजमान अजिज मोहम्मदले भनें थपिएको योगदान श्रमिकको सुरक्षामा लागि रहेको भन्दै यो खर्च नभई योगदान रकम हुने बताएका छन् । सो रकमबाट श्रमिकलाई उनीहरुको भलाई तथा सुरक्षामा विना कुनै समयको पावन्दी उपलव्ध गराउन सकिने सोक्सोको तर्क छ ।
सोक्सोको नयाँ व्यवस्थाले अन्तराष्ट्रिय मापदण्ड पुरा गर्न पनि सहज हुने जनाइएको छ । यसले आप्रवासी श्रमिकको मृत्यु भएको अवस्थामा उनीहरुको शव सम्वन्धित व्यक्तिको मुलुक फर्काउन हरेक बर्ष खर्च हुँदै आएको झण्डै तीन करोड रिगिट रकम रोजगारदाताको दायित्वबाट सोक्सोमा सर्नेछ । यसैगरी सोक्सोमा आवद्ध श्रमिकको २४ घण्टाको विमा हुने भएपछि त्यसले श्रमिकको चोटपटकको उपचार सुविधा पनि उपलव्ध हुनेछ । यसले श्रमिकलाई पनि सहज हुनेछ । तर सोक्सोमा सम्वन्धित श्रमिक र रोजगारदाता दुवैले रकम जम्मा गर्नुपर्ने छ ।
यस अगाडी मलेसियामा स्वदेशी र विदेशी श्रमिकबीच विभेद गरिएको भनेर हुने गरेको आलोचनालाई पनि सोक्सोको पछिल्लो व्यवस्थाले सम्वोधन गर्ने रोजगारदाताहरुको संगठन र सोक्सोले जनाएका छन् । सोक्सोको नयाँ प्रावधानले रोजगारदाताहरुलाई श्रमिकको तलवमा हुँदै आएको खर्चमा हुन्य दशमलव ५ प्रतिशत मात्र खर्च बढाउने अनुमान गरिएको छ ।
मलेसियामा हाल मासिक न्यूनतम तलव १५ सय रिंगिट तोकेको छ । हाल मलेसियामा १६ लाख विदेशी श्रमिक रहेका कारण सोक्सोको नयाँ व्यवस्थाले १४ करोड ४० लाख रिंगिट दायित्व रोजगारदातालाई थपिनेछ । श्रमिकले भुक्तानी गर्नुपर्ने रकम निजले प्राप्त गर्ने मासिक तलवको आधारमा निर्धारण गरिएको छ । मासिक १५ सय रिंगिट तलव प्राप्त गर्ने श्रमिकले सोक्सोमा प्रति महिना ७ रिंगिट ७५ सेण्ट जम्मा गर्नुपर्नेछ ।