
काठमाडौं, स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको मृत्यु घटाउन गन्तव्य मुलुकस्थित दूतावास मार्फत नै स्वास्थ्य परीक्षण गर्ने रणनीति अगाडी सारेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा जानेको विदेशमै नेपाली दूतावासमार्फत नियमित स्वास्थ्य परीक्षण व्यवस्थित गरिने घोषणा गरेका हुन् ।
मन्त्री पौडेलको सचिवालयका अनुसार रोजगारीका क्रममा हुने अधिक दुर्घटना र मृत्युको कारण पहिचान गरी न्यूनीकरणको रणनीति बनाएर कार्यान्वयन गरिने उनले घोषणा गरे । मुलुकमा बढिरहेको मृगौला रोगको क्षति रोक्न बेलैमा उपचार थाल्न मृगौला स्क्रिनिंग अभियान थाल्ने पनि मन्त्रालयको योजना छ । हाल वैदेशिक रोजगारबाट फर्किनेहरुमा मृगौलाको समस्या धेरै देखिएको छ ।
राजधानीको नेपाल किड्नी सेण्टरमा हाल डायलासिस गराइरहेका मध्ये ३० प्रतिशत भन्दा बढी वैदेशिक रोजगारबाट फर्केकाहरु रहेको र अन्य अस्पतालहरुमा पनि डायलासिस सेवा लिनेहरुमा युवा उमेरका तथा वैदेशिक रोजगारबाट फर्केकाहरुको संख्या उल्लेख्य छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले पदभार ग्रहण गरेलगत्तै प्रतिबद्धता जनाएको स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता सार्वजनिक गर्ने क्रममा वैदेशिक रोजगारीमा रहेकाहरुको मृत्युदर घटाउने रणनीति सार्वजनिक गर्दै श्रोत सुनिश्चितता समेत गरेर लक्षित कार्यक्रमहरु कार्यान्वयन गर्ने उद्देश्य राखिएको बताए ।