काठमाडौ, इजरायलमा केयरगिभरको काममा जान आवेदन दिएकाहरू मध्ये तीन हजार ४ सय ६१ जनाको आवेदन सदर भएको छ । केयरगिभरका लागि चार हजार २४ जनाले आवेदन दिएका थिए । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुई हजार सहायक कामदार (केयरगिभर) माग गरेको थियो ।
वैदेशिक रोजगार विभागका अनुसार यसरी आवेदन सदर भएकाहरु मध्ये एक हजार ८ सय ६३ पुरुष छन् भनें एक हजार ५ सय ९८ महिला छन् । आवेदन दिएकाहरूमध्ये ३२१ जनाको आवेदन रद्द भएको छ । यसैगरी २ सय ४२ जनाको आवेदन कागजात नपुगेका कारण फिर्ता पठाइएको छ ।
विभागले ती आवेदनहरू सदर गरेसँगै इजरायलको सरकारी निकाय पीबालाई नाम जाँच्न पठाएको छ । पीबाले पठाएको नामहरुलाई मात्रै इजरायल सरकारको चिठ्ठा कार्यक्रममा समावेश गराउने विभागले जनाएको छ ।
माग गरिएका दुई हजार जना मध्ये एक हजार मुख्य उम्मेदवार हुनेछन् भनें एक हजार वैकल्पिक उम्मेदवार हुनेछन् । त्यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदार लैजाने इजरायलको नीति छ ।
इजरायलमा कामदार पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिहरूले अनधिकृत रूपमा रकम असुल गर्ने गरेको जानकारी आएको भन्दै विभागले सचेत गराएको छ । त्यस्ता भ्रममा नपर्न र कसैले त्यसरी पैसा लिइरहेको सूचना पाएको खण्डमा विभागमा खबर गर्न समेत अनुरोध गरेको छ ।