काठमाडौं, विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपालको राहदानी (पासपोर्ट) गत वर्ष भन्दा यस बर्ष पाँच स्थान माथि उक्लिएको छ । गत बर्ष १०३ औं स्थानमा रहेको नेपालको पासपोर्ट यस बर्ष ९८ औं स्थानमा छ । तर यो पनि सन्तोषजनक भनें होइन ।
विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्ने हेन्ले पासपोर्ट इन्डेक्स २०२४ अनुसार नेपाल पुछारबाट सातौं स्थानमा छ । गत मंगलवार जारी गरिएको सूचि अनुसार सिंगापुर शीर्ष स्थानमा छ । सिंगापुरको राहदानी संसारको सबैभन्दा बलियो पासपोर्ट ठहरिएका कारण सिंगापुरका नागरिकहरूले विश्वका २२७ गन्तव्यमध्ये १९५ गन्तव्यमा पहिले नै भिसा नलिई यात्रा गर्न सक्छन्।
सिंगापुरपछि फ्रान्स, जर्मनी, इटाली, जापान र स्पेन १९२ फ्रि भिसामा यात्रा गर्न सकिने गन्तव्यसहित शक्तिशाली पासपोर्टको सूचीमा दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा अस्ट्रिया, फिनल्याण्ड, आयरल्यान्ड, लक्जमबर्ग, नेदरल्याण्ड, दक्षिण कोरिया र स्वीडेन रहेका छन् । यी राष्ट्रहरूबाट १९१ मुलुकमा यात्रापूर्व भिसा नलिई जान सकिन्छ ।
यसैगरी बेल्जियम, डेनमार्क, न्युजिल्यान्ड, नर्वे, स्विट्जरल्याण्ड र बेलायत १९० मुलुकमा भिसा नलिई जान ससकिन्छ । यी मुलुकहरु सूचीको चौथो स्थानमा छन् । अष्ट्रेलिया र पोर्चुगल १८९ मुलुकमा भिसा नलिई जान सकिने मुलकका रुपमा पाँचौ स्थानमा छन्।
नेपाल सन् २००६मा ७६औं स्थानमा रहेको थियो । तर त्यसपछिका वर्षमा भने नेपाल घटुवा हुँदै ११० औं स्थानसम्म झरेको थियो । त्यसपछि २०२२मा १०५औं स्थानमा उक्लेको थियो । हेन्ले पासपोर्ट इन्डेक्स २०२४ का अनुसार नेपालबाट ३९ राष्ट्रहरूमा पहिले नै भिसा नलिई जान सकिन्छ ।