काठमाडौं, सरकारले वैदेशिक रोजगारीका कारण अर्थतन्त्रको अवयवहरुमा ल्याएको परिवर्तनबारे अध्ययन गर्ने भएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारका प्राथमिकताहरु पेश गर्ने क्रममा सो जनाएका हुन् । वैदेशिक रोजगारीका कारण उपभोक्ताको आवश्यकता र प्रभावमा फरक आएको प्रधानमन्त्री ओलीले बताए । उनले नेपालमा मोटरसाइकलकोे विक्रि घटेर स्कुटरको विक्रि बढ्नुलाई वैदेशिक रोजगारसँग जोड्दै वैदेशिक रोजगारका कारण अर्थतन्त्रमा आएको परिवर्तनको समग्र अध्ययन गरिने बताएका हुन् ।
उनले अगाडि भने, ‘वैदेशिक रोजगारीको अर्थतन्त्रको कुनकुन अवयबमा के कस्तो परिवर्तन ल्याएको छ । माग र आपूर्ति कहाँ घटेको छ, कहाँ बढेको छ भनेर राष्ट्र बैंकले विस्तृत अध्ययन गर्ने छ ।’ विदेशबाट फर्केकाहरुको ज्ञान, सीप र पुँजीलाई परिचालन गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अभियान नै सञ्चालन गरिने प्रधानमन्त्री ओलीले बताए ।
यसैगरी देशभित्र रोजगारी सिर्जना गर्ने, स्टार्टअप, आइटीलाई प्रोत्साहन गर्ने नीति सरकारको रहने पनि प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले नेपालमा नै उत्पादन हुने थुप्रै वस्तुहरु विदेशबाट आयात गरिरहेको बताए । त्यसैले नेपालले आयात प्रतिस्थापन गर्दै निर्यात गर्न सकिने वस्तुहरुको उत्पादन वृद्धिमा काम गर्ने बताए ।
कृषि क्षेत्र नेपालका लागि महतवपूर्ण रहेको भन्दै प्रधानमन्त्री ओलीले प्रविधि र उद्यमशीलताको विकाश गरी कृषिमा अल्झिएको जनसंख्यालाई अन्य क्षेत्रमा लाग्न प्रेरित गरिने पनि बताए ।