
काठमाडौं, दुवईमा मासिक ४० हजार तलव हुनेगरी कम्पनीमा काम लगाईदिने प्रलोभनमा पारेर एक महिलालाई युएई तथा कुवेतमा पुर्याएर यौन शोषण र हिंसा गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मानव बेचविखन अनुसन्धान व्यूरोले मोरङ रङ्ंगेलीका कृष्ण अधिकारी भनेर चिनिने झयन्द्र कुमार अधिकारीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अधिकारीले अर्का एक व्यक्तिसँगको मिलेमतोमा पीडित महिलालाई २ लाख लिएर भिजिट भिसामा सुरुमा युएई पठाएका थिए । २०७९ जेठमा युएईको दुवई पुर्याइएकी उनलाई एक व्यक्तिले फ्लायाटमा बन्धक बनाएर घरेलु काममा लगाएका थिए । उनले ति महिलाको चरम श्रम शोषण गर्नुका सार्थ यौन शोषण गरी जवर्जस्ती गर्भपतन समेत गराएका थिए ।
त्यहाँबाट कुवेतमा अफिसमा क्लीनरको काममा लगाइदिने भन्दै उनलाई २०२३ मे ११ तारिखमा कुवेत पुर्याइएको थियो । कुवेतमा जिम्मा लिएको एजेण्ट अफिसमा पनि उनलाई बन्धक बनाएर श्रम शोषण र यौन शोषण गरिएको उजुरी रहेको प्रहरीले जनाएको छ । पीडित महिलाले घर फर्काइदिन आग्रह गर्दा १५ सय कुवेती दिनार (नेरु ६ लाख ७५ हजार) आफन्त मार्फत बुझाएर नेपाल फर्किन सफल भएकी थिइन् ।
उनी स्वदेश फर्केपछि मानव बेचविखन अनुसन्धान व्यूरोमा उजुरी दिएकी थिइन । सोही उजुरीका आधारमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो । ललितपुरबाट पक्राउमा परेका अधिकारीलाई मानव बेचविखन तथा ओसारपसार मुद्धा दायर गर्नेगरी अनुसन्धान भइरहेको व्यूरोका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।