काठमाडौं, नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ ।
नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको हो । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको छ । वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।
ति दुईवटा बसमा ६५ जना यात्रुहरु रहेको अनुमान छ । सो दुर्घटनामा परेर हराएका यात्रुको गोताखोरहरु मार्फत त्रिसुली नदिमा खोजी सुरु भएको छ । पहिरोका कारण अवरुद्ध भएको सडक हाल पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको छ ।