काठमाडौं, सरकारले विभिन्न ८ देशमा राजदूत सिफारिस गरेको छ। शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले भागबण्डाका आधारमा राजदूत सिफारिस गरेको हो।
जसमा एमालेका ५, जनता समाजवादी पार्टी ९जसपा०का २ र माओवादी केन्द्रबाट १ जना छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नाम दिएको छैन।
सत्ताको मुख्य घटक एमालेको भागमा भारत, अमेरिका, दक्षिण कोरिया मलेसिया र डेनमार्क परेको छ। भारतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी, अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस गरिएका छन्। रेग्मी दोहोरिएर राजदूत सिफारिसमा परेका हुन्। यसअघि उनी बेलायतमा राजदूत हुँदा पनि एमाले कोटाबाटै परेका थिए।
यस्तै, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र डेनमार्कका लागि सुम्निमा तुलाधरको नाम सिफारिस भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालबाट फुटेर अशोक राइले गठन गरेको जनता समाजवादी पार्टी ९जसपा०बाट २ राजदूत सिफारिसमा परेका छन्। जसमा साउदी अरबमा अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि डा पुष्पराज राजकर्णिकार छन्।
बेलायतका लागि डा. विजन पन्तको नाम सिफारीस भएको छ। उनी माओवादी केन्द्रबाट परेका हुन्।
रास्वपाका उपसभापति समेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफ्नो कोटाबाट राजदूत सिफारीस हुन बाँकी रहेको जानकारी दिए।