काठमाडौं, श्रम मन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनमा गरेका मुख्य कामहरु सार्वजनिक गरेका छन् । उनले श्रम स्वीकृतिको दैनिक कोटा हटाइएको र २४ सै घण्टा आवेदन दिने व्यवस्था मिलाइएको, वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवाग्राही सहजीकरणका लागि हेल्प डेस्क सञ्चालनमा ल्याइएको लगायतका उपलव्धि सार्वजनिक गरे ।
मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले तत्काल सुधारका लागि चालिएका कदमले वैदेशिक रोजगारीमा जाने श्रमिकको समय, श्रम, लागत र हैरानी न्यूनीकरण भएको, श्रम स्वीकृति सम्बन्धी सेवा प्रवाह चुस्त र प्रभावकारी भएको बताए । उनले आफ्नो नेतृत्वमा गरिएको कामले सार्वजनिक सेवा प्रति नागरिकको विश्वास बढेको, श्रम स्वीकृति प्रक्रियामा हुनसक्ने ठगी नियन्त्रण भएको पनि दावी गरे ।
आन्तरिक तथा वैदेशिक रोजगारिमा रहेका श्रमिकहरुको गुनासो, उजुरी तथा सुझावहरुलाई सम्बोधन गर्न सूचना प्रविधिमा आधारित एकद्वार प्रणाली श्रमाधानको स्थापना र सञ्चालन गरिएको पनि मन्त्री अर्यालको प्रगति प्रतिवेदनमा समेटिएको छ । यसैगरी हालै देशका सातवटै प्रदेशहरुमा आयोजना गरिएको रोजगार मेला पनि मन्त्री अर्यालयको प्रगतिमा समेटिएको छ ।
मन्त्री अर्यालले श्रमिकलाई थप आर्थिक भार तथा बोझ दिने गरी विगतमा भएका निर्णय तथा जारी भएका कार्यविधिहरुको असर तथा प्रभाव अध्ययन गरी कतिपय कार्यविधिहरु खारेज, स्थगन तथा परिमार्जनको प्रक्रिया अगाडी बढाइएको पनि जानकारी गराए ।