काठमाडौं, कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आइपुग्दै छन् । उनी बेलुकी ५ बजेको आसपासमा काठमाडौं उत्रिनेछन् । आज सरकारले सार्वजनिक विदा समेत दिएको छ । कुनै पनि मुलुकको राष्ट्र प्रमुखको राजकीय भ्रमणमा नेपालमा सार्वजनिक विदा दिने प्रचलन छ ।

फिलिपिन्सबाट एसियाको भ्रमण थालेका कतारी अमिर बंगलादेशबाट काठमाडौं उत्रन लागेका हुन् । पहिलो पटक नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लागेका कतारका अमिरलाई स्वागत गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल जानेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ । उनलाई विमानस्थलमा नै २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम  छ । उनको सम्मानमा राष्ट्रपति पौडेलले आजै साँझ होटल सोल्टीमा राजकीय भोजको आयोजना गर्नेछन् । अमिर होटल सोल्टिमा नै बस्ने भएका छन् ।

भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

नेपालले विपिन जोशी रिहाइको विषय उठाउने नेपालले कतारी राजासमक्ष प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्ने भएको छ । प्रधानमन्त्री दाहालले विपिनको रिहाइका लागि पहलकदमी लिइदिन कतारी राजासँग आग्रह गर्ने आश्वासन दिएका छन ।

यसैबीच कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणको सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने भएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७५ मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा कतारका राजालाई अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गर्न लागिएको हो ।

विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपाल भ्रमणका बेला पनि यही तहको सुरक्षा प्रबन्ध मिलाइएको थियो । यसअनुसार विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको पार्श्ववर्ती र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ ।

बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ ।

यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् ।

अमिर अल थानी बुधबार स्वदेश फर्किनेछन् । तसर्थ बुधबार पनि उनी फर्किदा विमानस्थल केहि समय बन्द रहनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय