काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले आगामी १५ बर्ष भित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन् । आइतबार मन्त्रालयले आयोजना गरेको ‘वृहत रोजगार मेला’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले १५ बर्षमा बाध्यकारी वैदेशिक रोजागरीको अन्त्य हुने बताएका हुन् । ‘हामीले अहिले देखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ बर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ,’ उनले भने ।

श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरु बिच समन्वय गर्ने उद्धेश्यका साथ वृहत रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका बिषयमा सुझाव लिनका लागि मन्त्रालयले आइतबार छलफल आयोजना गरेको थियो ।

मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरि रहेका प्रशिक्षण केन्द्रको सहभागीता रहने मन्त्री अर्यालले बताए । “मेलामा रोजगारदाताले आफुलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको बिषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीको लागि आवश्यक पर्ने सीपको बारेमा जानकारी पाउनेछन् । साथै मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहे अनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन्,’ उनले बताए ।

त्यस्तै, छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रबद्र्धन गर्ने उद्धेश्यले वृहत रोजगार मेलाको आयोजना गर्न लागिएको बताए । मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने समेत उनले बताए ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि वृहत रोजगार मेलाको परिकल्पना गरिएको बताए ।

छलफल कार्यक्रममा नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुगांना, होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, उद्योग बाणिज्य महासंघ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, अनुसन्धानकर्ता रामेश्वर नेपाल लगायतका व्यक्तिले आ आफनो सुझाव राखेका थिए । त्यस्तै, आईएलओका प्रतिनिधि सौरभ जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय