रुस-युक्रेन युद्ध क्षेत्रमा रहेका नेपालीको जीवनरक्षा र सुरक्षित स्वदेश फिर्तिका लागि अपिल

काठमाडौं, रुस र युक्रेनबीच जारी युद्ध तथा सो क्षेत्रमा संलग्न नेपालीहरूको जीवनरक्षा, उनीहरूको अवस्थाको जानकारी र यथाशीघ्र सकुशल स्वदेश फिर्तीका लागि सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रले नेपाल सरकारसँग अपील गरेका छन् ।

दुईवटा संस्थाले संयुक्त विज्ञप्ती जारी गर्दै जुनसुकै कारण वा माध्यमबाट युद्धरत क्षेत्रमा पुगेका वा सैनिक भर्नासम्बन्धी अन्तराष्ट्रिय मापदण्डको विपरीत युद्धमा संलग्न गराइएको भए पनि उनीहरुको अवस्थाको जानकारी परिवारले पाउनुपर्छ र संकटमा परेका नेपालीहरूको सुरक्षाको दायित्व नेपाल सरकारले लिनुपर्छ भनेका छन् ।

विज्ञप्तीमा भनिएको छ, युद्धरत क्षेत्रमा रहेका नेपाली आप्रवासी श्रमिकहरूको अवस्थाको जानकारी, सुरक्षाको ग्यारेन्टी र सकुशल स्वदेश फिर्ता गरी पाउँ भनी पीडित परिवारहरूले गरेको मागको प्रभावकारी सुनुवाइ हुन नसक्नु साथै त्यहाँ मृत्यु हुने श्रमिकको संख्या दिनप्रतिदिन थपिंदै जानुले समस्या थप जटिल बन्दै गएको हामीले महसुस गरेका छौं । युद्धरत क्षेत्रमा रहेका नेपाली आप्रवासी श्रमिकहरूको यथार्थ जानकारी बाहिर नआउनु र परिवारसँग उनीहरूको सम्पर्क हुन नसक्नुले त्यहाँ रहेका नेपाली श्रमिकहरूको अवस्था गम्भीर रहेको पुष्टि हुने दुई संस्थाको ठहर छ ।

नेपाल सरकारले प्रतिवद्धता जनाएका मानवअधिकार सम्बन्धी अन्तरर्राष्ट्रिय कानुन, नेपालको संविधान र आप्रवासी श्रमिक र तिनका परिवारको अधिकार सम्बन्धी महासन्धिको प्रावधानले आफ्ना नागरिकको शान्ति, सुरक्षा र अवस्थाका बारेमा राज्यले पुरा गर्नुपर्ने दायित्वलाई स्पष्ट गरेको विज्ञप्तीमा उल्लेख छ । आप्रवासी श्रमिक र श्रमिकका परिवारको हक अधिकारका क्षेत्रमा क्रियाशील सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले नेपाल सरकार, सम्बन्धित मुलुकहरू र तिनका कुटनीतिक निकाय, मानव अधिकार र खासगरी आप्रवासी श्रमिकको अधिकारका क्षेत्रमा कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय एवम् संघसंस्थाहरूको समेत ध्यानाकर्षण गराउँदै युद्धरत क्षेत्रमा रहेका नेपालीहरूको जीवनरक्षा, उनीहरूको अवस्थाको जानकारी र यथाशीघ्र सकुशल स्वदेश फिर्तीका लागि नेपाल सरकारसँग अपील गरेका हुन् । यसैगरी द्वन्द्व प्रभावित क्षेत्रमा जोखिमपूर्ण वा उच्च जोखिमको कामका लागि नेपाली आप्रवासी श्रमिकको भर्तीलाई रोक्न उच्चस्तरको तहबाट तत्काल आवश्यक कदम चाल्न पनि नेपाल सरकार समक्ष जोडदार माग गरेका छन् ।

रुस र युक्रेनबीच जारी संघर्षका क्रममा नेपालीहरु रुसी फौजमा भर्ना हुने र युद्धमा मारिने क्रम जारी नै छ । केहि नेपाली युद्धबाट भागेर स्वदेश फर्किन सफल भएका छन् । उनीहरुले रुसी फौजमा १५ हजार भन्दा बढी नेपाली संलग्न भइसकेको र चारसय भन्दा बढी मारिएको दावी गरेका छन् । तर यसको यकिन तथ्याँक भनें उपलव्ध छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: