बुखारेष्ट, मेरो नाम सार्वजनिक गर्न चाहन्न । मेरो परिवार, मेरा साथिहरु, मलाई चिन्नेहरुले मेरो अवस्था थाहा पाएमा नराम्रो लाग्छ । मेरो नेपाल घर नुवाकोट हो । रोमानिया आएको १३ महिना भयो । पहिले साउदी अरव र बहराइनमा काम गरेको थिएँ । निर्माण क्षेत्रमा काम गरेको अनुभव सहित म रोमानिया आएको हुँ ।

आएको एक बर्षमा आउँदा लिएको ऋण त तिर्न सकिएन, के को युरोप ? म खाडीमा कन्स्ट्रक्सनकै काम गरिरहेको थिएँ । यो भन्दा त साउदी, बहराइनकै काम धेरै ठिक । कमसे कम कामको ठेगान छ, तलव पाइन्छ । दुई बर्ष काम गरेपछि तलवी घर विदा दिन्छ, घर फर्किन टिकट दिन्छ । यहाँ त न काम छ, न कमाई छ । सबै खर्च आफ्नै हुन्छ ।

बहराइमा काम गरेर नेपाल फर्केपछि साथिहरुले रोमानियामा राम्रो कमाई हुन्छ र भविष्यमा पनि युरोपको अरु मुलुक गएर स्थायी रुपमा बस्न सकिन्छ भने । मलाई पनि त्यसो हो भनें किन नजाने भन्ने लाग्यो ।

प्रकृया सुरु भयो । आठ महिना जति लाग्यो भिसा आउन । रोमानियाको नाम त सुनेको थिएँ तर आउनु अगाडी रोमानियाको कानुन, कामका बारेमा खासै थाहा थिएन । साथिहरुले भनेको र एजेण्टले देखाइदिएको सपना देखेर रोमानिया आइपुगें । म मेनपावर कम्पनीमा ५ लाख ५० हजार बुझाएर आएको हुँ । म सिधै मेनपावर कम्पनीमा पुगेको हुँदा ५ लाख ५० तिर्दा भयो । मसँगै आएका अरु साथिहरु ८ लाखसम्म तिरेर आएका रहेछन् ।

यहाँ आएपछि थाहा भयो, यहाँको काम त खाडीको भन्दा पनि गाह्रो रहेछ । खाडीमा गर्मी महिनामा बाहिरको काम गर्न सकिन्न, यहाँ जाडो समयमा । यहाँ (रोमानिया) आएको ४/५ महिनासम्म धेरै कुरा थाहा भएन । भाषा पनि बुझिंदैन । १३ महिना भयो, अझै पनि म भाषा बुझ्दिन ।

रोमानियाको मौषम धेरै गाह्रो हामी नेपालीलाई । चिसो समयमा धेरै नै चिसो हुन्छ । चिसो बेलामा घर बाहिरको काम गर्नै सकिन्न । स्थानीयहरु भनें त्यस्तो चिसोमा पनि बाहिरको काम गर्न सक्छन् । शारिरीक रुपमा पनि उनीहरु हामी भन्दा धेरै बलिया हुन्छन् ।
निर्माणको काममा आउँछन् धेरै नेपाली । तर यो काम गाह्रो छ । बाहिरको काम गर्न सजिलो छैन । कामको बारेमा बुझेर मात्रै आउनु पर्छ । हामीले नेपालमा वा खाडीमा गरेको जस्तो काम होइन रहेछ रोमानियामा । काम गर्ने तरिका, सामग्री धेरै फरक हुने रहेछ । खाडीमा त कमसे कम दुई बर्ष काम गरेपछि तलवी छुट्टी दिन्छ, घर गएर आउने टिकट दिन्छ । यहाँ केहि छैन । सबै आफैंले गर्ने हो ।
स्थानीयहरु भनें सहयोगि खालका हुन्छन् । तर हामी भन्दा धेरै काम स्थानीयले गर्दा रहेछन् । उनीहरु बलियो पनि हुने र मौषमले पनि उनीहरुलाई धेरै फरक नपार्ने । हामीले अलिक ढिलो काम गर्यौं भनें कम्पनीले निकालिदिने रहेछ । हामी रोमानियाकै मान्छेसँग प्रतिस्पर्धा गरेर त काम गर्नै सक्दैनौं ।

नेपालबाट पठाउँदा मेनपावर कम्पनीले तलव मासिक ६ सय युरो हुने भनेर पठाएको थियो । तर यहाँ आएपछि ५ सय अमेरिकी डलर बरावर तलव हुन्छ भनियो । तर ५ महिना काम गर्दा मैले बल्लतल्ल एक महिनाको तलव पाएँ । कम्पनीलाई भन्दा काम गरेको ठाउँबाट पैसा आएको छैन भन्यो । नेपालमा मेनपावर कम्पनीमा फोन गर्दा नगरपालिकाको काम हो, तलव आउन समय लाग्छ भनियो । कहिलेसम्म त्यसै काम गर्ने ? केहि लागेन, त्यसैले काम छोडें । स्थानीय श्रमिकले त जसरी पनि पैसा लिन्छन्, तर हामी विदेशी कति महिना विना तलव काम गर्न सक्छौं र ?

सुरक्षाका साधन पनि केहि दिइन्न ।स्काफोल्डिङको काम गर्दा पनि कुनै सुरक्षा छैन । आफ्नै रिस्कमा काम गर्ने हो । हिउँदमा चिसो हावामा बाहिर गर्नुपर्ने काम, सुरक्षाको कुनै साधन नभएपनि काम गर्नुपर्छ ।

युरोपमा रोजगारीका लागि आउँलदा यहाँको भाषा जानेर आउनु पर्ने रहेछ । कम्पनीको कुनै ग्यारेण्टी छैन । कम्पनीले कति समय काम दिन्छ भन्ने ग्यारेण्टी पनि छैन, आएको कामदारले पनि यति समय काम गर्नैपर्छ भन्ने हुन्न । युरोपमा जसलाई मन परेन भनें त्यहि दिन काम सकिने रहेछ । यस अगाडी काम गर्न आएको कम्पनीले मलाई चार महिना तलव दिएन । मैले काम छोड्छु भनेकै दिन कम्पनीले रिलिज लेटर बनाइदियो । खाडीमा जस्तो कम्पनी छोड्न नपाइने भन्ने छैन ।

यहाँ समस्यामा परेमा सहयोग गर्ने नेपाली संस्था छैन । म यहाँ आएको ५ महिना पछि कम्पनीबाट रिलिज लिएर नयाँ काम खोज्न बुखारेष्ट गएँ । त्यहाँ १ हजार ल्यू तिरेपछि नेपाली एजेण्टले नै अहिलेको काममा लगाइदिएको हो । हामीलाई केहि थाहै हुन्न । समस्या परेको कुरा कहाँ जाने, कसलाई भन्ने ? समस्यामा परेर बुखारेष्ट जाँदा पनि त्यहाँ काम छोडेर नयाँ काम खोज्न आएकाहरु र काम लगाइदिने दलालहरु मात्रै भेटें । नेपाली दूतावास नहुँदा समस्या छ ।

अहिलेको कम्पनीले तलव समयमा नै दिन्छ । तलव महिनाको २५०० ल्यू छ । खासै ओभरटाइम काम हुन्न, काम हुँदा ओभरटाइम काम गरेको पैसा दिन्छ । बस्ने ठाउँ ठिक छ । एउटा कोठामा दुईजना बस्ने हो ।

मलाई खान बस्न कम्पनीले नै दिन्छ । सुरुमा खानेकुरा दिएको थियो, अहिले पैसा दिन्छ, खानेकुरा किनेर ल्याएर खाने गरेको छु । कम्पनीले दिने खाना भन्दा यसरी पैसा दिंदा नै सजिलो छ । भनेको खानेकुरा खान पनि पाइयो र केहि पैसा बचत पनि हुन्छ । अहिलेको कम्पनीले राम्रै गर्यो भने अझै दुईतीन बर्ष बस्छु । आउँदाको ऋण १३ महिना हुँदा पनि तिर्न सकेको छैन । यो भन्दा त खाडीमै ढुक्क हुने रहेछ । काम गरेको तलव पाइन्थ्यो, गएपछि दुई बर्षको सम्झौता हुन्थ्यो । यहाँ त छैन त्यस्तो केहि ।

नेपालमा मेनपावरले रोमानियामा त खुट्टा मात्र टेक्ने हो । काम मन परेन भनें युरोपको जुन मुलुक गएपनि हुन्छ भन्छन् । तर यहाँ त्यस्तो हुन्न । हामी विश्वासको भरमा आउँछौं । यहाँ आएपछि काम पाउन पनि सकिन्छ, काम नपाएर फेरी एजेण्ट खोज्नु पर्ने पनि हुनसक्छ । कहिले काहिं महिनामा १०/१२ दिन काम हुन्छ । त्यस्तो बेलामा तलव पुरा पाइन्न । कम्पनी छोडेर हिंड्ने मध्ये सबैभन्दा धेरै निर्माणको क्षेत्रको काममा आएकाहरु नै हुने गरेको छन् ।

एउटा व्यक्तिले खोलेको सानो कम्पनीमा नेपालबाट मेनपावर कम्पनीले झक्याएर पठाइदिन्छ । बिल्डिङ कन्स्ट्रक्सनको काममा जाने भए तत्काल भिसा आउँछ, अरु कामको ठेगान हुन्न भन्छ । त्यहाँ गएपछि अरु नै काम खोजेर गर्न पाइन्छ भन्छ । तर यहाँ आउँदा कामै हुन्न । भएपनि तलव पाउन समस्या । काम गर्न पनि गाह्रो ।

पोर्चुगल जाने भनेर आउनेहरु धेरै भेटेको छु । तर एजेण्टले भनेजस्तो सजिलो छैन पोर्चुगल जान । युरोपको सपना देख्दै हुनुहुन्छ भनें बुझेर मात्रै आउनु होला । १३ महिना भयो मैले मेनपावर कम्पनीलाई तिरेको र यहाँ आउन गरेको अरु खर्च उठाउन सकेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: