काठमाडौं, मलेसियाको पेराकमा अवैधानिक रुपमा बस्दै आएका ३ सय ५० आप्रवासी श्रमिकले स्वदेश फर्किन सरकारी अनुमति लिएका छन् । त्यसरी स्वदेश फर्किन अनुमति लिनेहरुमा नेपालीका साथै बंगलादेश, ईण्डोनेशिया, भारत, पाकिस्तान, म्यानमार, श्रीलंका लगायतका देशका रहेको त्यहाँको अध्यागमन कार्यालयले जनाएको छ ।
मलेसियाको सरकारी सञ्चार माध्यम बर्नमाका अनुसार मलेसिया सरकारले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत सहज रुपमा स्वदेश फर्किन अनुमति लिनेहरुको संख्या अपेक्षाकृत कम नै छ । मलेसियाको सरकारी निकायले नेपाल र ईण्डोनेशियाले अवैधानिक रुपमा मलेसियामा बस्दै आएका आफ्नो देशका नागरिकर्लाइ स्वदेश फर्काउन उल्लेख्य भूमिका खेलेको जनाएको छ ।
२१ लाख भन्दा बढी विदेशी श्रमिकले वैधानिक रुपमा काम गरिरहेको मलेसियामा अवैधानिक रुपमा बसेर काम गर्नेहरुको संख्या पनि उल्लेख्य छ । आप्रवासी श्रमिकको संख्या धेरै भएको भन्दै मलेसियाले केहि समय आप्रवासी श्रमिक नलिने निति अपनाएको छ । यस अगाडी पनि कोभिड १९ को संक्रमण पश्चात झण्डै दुई बर्ष मलेसियाले विदेशी श्रमिक लिएको थिएन ।