काठमाडौं, घरेलु श्रम गर्न जानेहरुलाई संसदिय समितिले दिएको ७ बुँदे निर्देशन अनुसार नै व्यवस्था गरेर पठाउने आन्तरिक तयारी भइरहेको श्रम मन्त्री शरतसिंह भण्डारीले बताएका छन् । उनले संसदिय समितिले २०७७ सालमा दिएको सात बुँदे निर्देशनमा नै टेकेर पठाउने गरी गृहकार्य गरिरहेको बताए ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले पौरखी नेपालसँगको साझेदारीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले व्यवस्थित बनाएर पठाउने कुरा गर्दा त्यसको विरोध हुने गरेको गुनासो गरे । उनले अंग्रेजी भाषाको ज्ञान, गुणस्तरीय पूर्वप्रस्थान अभिमुखिकरण तालिम लगायतका पक्षमा मन्त्रालय रहेपनि त्यसलाई लागु हुन नदिने प्रयास भइरहेको बताए । उनले सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरतहरु एकजुट हुन जरुरी रहेको भन्दै अन्यथा सबैले आ–आफ्नै ढंगले काम गरेर नतिजा नआउने विचार प्रकट गरे ।

सो अवसरमा बोल्दै राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी खतिवडाले महिलालाई घरेलु श्रममा विदेश जान रोक्नु भनेको ढोका बन्द गरेर झ्यालबाट जान प्रेरित गर्नु भएको धारणा राखिन् । उनले यो अवस्थाको अन्त्य हुनुपर्ने भन्दै राज्यले अहिले पनि महिला श्रमिकलाई नचिनेको बताइन् ।

पौरखीकी रणनीतिक सल्लाहकार समेत रहेकी श्रम मन्त्रालयले गठन गरेको निति मस्यौदा समिति सदस्ीय मञ्जु गुरुङले महिला आफैंले निर्णय गर्न नपाउनु पर्ने धारणा राखिन् । उनले महिला बस्तु नभएको, श्रमिक भएको हुँदा कुन खालको रोजगारीमा कहाँ जाने भन्ने निर्णय गर्ने अधिकार स्वयं महिलाकै हुनुपर्ने बताइन् ।

मानव बेचविखन अनुसन्धान व्यूरोका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारलृ २०७९ पुषयता त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा जान चाहेका ३ हजार ३ सय ५६ महिलालाई फिर्ता गरिएपनि उनीहरु पटक पटक विदेश जान चाहेको देखिएको बताए । उनले कुवेत, ओमान लगायतका मुलुकमा गएर समस्यामा परेर फर्केर आएकाहरुको संख्या धेरै रहेको भन्दै तर पीडितले बीचमै मुद्धा छोडिदिंदा पीडकलाई सजाय दिलाउन समस्या भइरहेको बताए ।

छलफलमा सार्टुकका महासचिव लक्ष्गण बस्नेत, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवि बराल, व्यवसायी किसन श्रेष्ठ, घरेलु श्रमिकका रुपमा वैदेशिक रोजगारी गरी फर्केका तुलादेवी लावती, मनमाया राई, नानीमाया खत्री लगायतले आफ्ना धारणा राखेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय