रुसी सेनामा भर्ना भएका नेपालीलाई फर्काइदिन परिवारको आग्रह

काठमाडौ, रुसी सेनामा कार्यरत नेपालीका आफन्तहरूले त्यहाँ काम गर्न पुगेकाहरुलाई फर्काइदिन आग्रह गरेका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले आफन्त फर्काइदिन माग गरेका हुन् ।

रुसी सेनामा भर्ना भएका उदयपुरका पदम घिमिरे समेत दुई महिनादेखि सम्पर्कमा छैनन् । उनकी श्रीमती टिनाले दुई महिनादेखि श्रीमानसँग कुनै सम्पर्क नभएको बताइन् । ‘कुरा हुन नपाएको दुई महिना भयो । फोनमा कुरा हुँदा अब हामीलाई रेड जोन क्षेत्रमा लग्दैछन् भन्नुभएको थियो । त्यसपछि अहिलेसम्म कहाँ हुनुहुन्छ ? कस्तो हुनुहुन्छ : केही थाहा छैन’ उनले भनिन् ।

यसैगरी रुसी सेनामा कार्यरत रामकुमार प्रधानका साढु दाई नारायण खड्गीले असोज २५ गतेदेखि उनी सम्पर्कविहीन रहेको बताए । असोज २५ गते घरमा सम्पर्कमा गरेका रामकुमार त्यसयता सम्पर्कमा नआएको र उनको अवस्था अज्ञात रहेको खड्गीले बताए ।

दुबई प्रहरीमा कार्यरत रामकुमारलाई मासिक ३ लाख तलब पाउने भनेर रुस लगिएको थियो । तर, रुस पुगेपछि मासिक २ लाख रुपैयाँ मासिक तलब पाउने भनेर एग्रिमेन्ट गरिएको थियो । दलाललाई ७ लाख रुपैयाँ तिरेर रामकुमार रुस पुगेका थिए ।

रुसी सेनाको क्याम्पमा तालिम सकाएर उनलाई युक्रेनी सीमा क्षेत्रमा खटाएको थियो । रेड जोनले चर्चित रहेको युक्रेनी सीमा क्षेत्रमा खटाएपछि अन्तिम पटक असोज २५ गते घरमा कुरा भएको खड्गीले बताए । त्यसयता उनको अवस्था अज्ञात नै रहेको भन्दै उनको खोजी गरी नेपाल फर्काइदिन सरकारसँग आग्रह गरे ।

रुसी सेनामा १ महिना १८ दिन काम गरेर भागेर केही दिन अगाडि मात्रै नेपाल आइपुगेका खोटाङका सुमन राईले रुसमा निकै दु:ख रहेको बताए । आफूसँगै गएका र तालिम लिएका धेरै साथीहरू युद्धको क्रममा मारिएको बताउँदै उनीहरूको अवस्थाबारे केही जानकारी नभएको उनको भनाई छ ।

रुसी सेनामा गएका नेपालीहरूलाई युद्धको अग्र मोर्चामा खटाउने गरेको भन्दै त्यो क्षेत्रबाट बाँचेर फर्किन गाह्रो भएको उनको भनाई थियो ।

कैलालीकी चाँदनी विष्टका श्रीमान्, देवर र नाति (नाता पर्ने) रुसी सेनामा कार्यरत छन् । श्रीमान् र देवरसँग बेला बेला फोनमा कुरा हुन्छ । तर, केही दिन अगाडि तालिम सकेर युक्रेनी सीमा क्षेत्रमा खटाएपछि नातिसँग सम्पर्क नभएको उनको भनाई छ ।

गत मङ्सिर १९ गते तीनै जना रुसी सेनामा भर्ना हुनको लागि भन्दै नेपालबाट गएका थिए । उनका श्रीमान् विराजन विष्ट नेपाल आर्मीबाट राजीनामा दिएर सिंगापुर गएका थिए । सिंगापुर ७ वर्ष बसेका उनी त्यसपछि चार वर्ष दुबईमा बसेका थिए । दुबईबाट नेपाल आएर उनी भाइ र नातिलाई लिएर रुसी सेनामा भर्ना हुन गएका हुन् । त्यसका लागि उनीहरूले प्रतिव्यक्ति साढे ७ लाख रुपैयाँ दलाललाई दिएका थिए । रुसी सेनामा धेरै नेपालीहरू भर्ना भएको भन्दै उनीहरूका आफन्तहरूले रुस सरकारसँग कुरा गरेर नेपालीको भर्ना रोक्नुपर्ने र भर्ना भएका नेपालीहरूलाई फिर्ता बोलाउनुपर्ने उनीहरूको माग छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय