काठमाडौं, रोजगारीका लागि विभिन्न देशमा पठाइदिने नाममा छ सयभन्दा बढी व्यक्तिलाई ठगेको अभियोगमा एकजना पक्राउ परेका छन् । कन्जोसोम गाउँपालिका–४, का विकाश वाइवालाई सो अभियोगमा पक्राउ गरिएको उपत्यका अनुसन्धान कार्यालय काठमाडौले जनाएको छ ।

विहिवार आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको थियो । उनले नक्कली परिचय दिई युरोपका मुलुकहरु क्यानडा, पोल्याण्ड, माल्टा र क्रोएसिया लगायतका देशहरुमा पठाइने आश्वासनमा छ सय बढी व्यक्तिहरुबाट करोडौँ रकम उठाएर ठगेको प्रहरीको भनाई छ ।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार अभियुक्त वाइवाले विसं २०७३ सालबाट अयुस म्यानपावरलगायत विभिन्न मेनपावरमा एजेन्टका रुपमा करिब पाँच वर्ष काम गरेका थिए । उनले सो क्रममा विभिन्न व्यक्तिहरुलाई युएई, कतार मलेसिया लगायतका मुलुकहरुमा रोजगारीका लागिपठाएको प्रहरीको भनाइ छ । उनी २०७७ सालमा ठगी तथा अपराधिक लाभसम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतको विभिन्न स्थानमा लुकीछिपी बसेको, २०८० वैशाखमा आफूलाई विकाश वाइवा भनी नक्कली परिचय दिई बालाजुमा युरो विग्ङ्स एजुकेसन कन्सलटेन्सी सञ्चालन गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका वाइवाले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनी रकम लिई नक्कली भिसा देखाई जागिर छोड्न लगाएको तथा विकास वाईवाको नामबाट बैंक खाता खोली आफैले हस्ताक्षर गरी वैंक तथा वित्तीय संस्थामार्फत आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका वाइवाले युरोपमा रोजगारीका लागि पठाउने भन्दै क्यानडाका लागि प्रतिव्यक्ति रु १८ लाख, माल्टाका लागि रु आठ लाख, पोल्याण्डका लागि रु सात लाख र क्रोएशियाका लागि रु छ लाख ५० हजारका दरले ठगी गरेको प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले जानकारी दिए । उनका अनुसार वाइवाले छ सयभन्दा बढी सर्वसाधारणबाट रु ५० हजारदेखि रु पाँच लाखसम्म रकम लिएको देखिएको छ ।

ठगी गरेको रकमबाट रु चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, वसुन्धारामा ५० प्रतिशत शेयर, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाईको खातामा रु १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको रु १५ लाख ऋण तिरेको तथा रु ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको पत्ता लागेको प्रहरीको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय