काठमाडौ, वैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रदान गरिने प्रस्थानपूर्वको अभिमुखीकरण तालिमलाई व्यवस्थित गर्ने प्रतिबद्धता सरोकारवाला निकायहरूले जनाएका छन् । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको कार्यक्रममा उनीहरुले स्वास्थ्य परीक्षण कार्यलाई समेत प्रभावकारी बनाउने विषयमा प्रतिबद्धता जनाएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीको अध्यक्षतामा वैदेशिक रोजगारमा जाने श्रमिकको पूर्वप्रस्थान अभिमुखीकरण तालिम एवं स्वास्थ्य परीक्षण गर्ने कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मन्त्रालय, वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार व्यवसायी संघ, पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था एवं वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूसँग सरोकारवालाको उपस्थिति थियो ।

उक्त कार्यक्रमपछि प्रभावकारी अभिमुखीकरण तालिम मार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचनाहरू नपाइकन वैदेशिक रोजगारमा जाने कामदारहरूको संख्यालाई शून्यमा झार्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

त्यस्तै स्वास्थ्य परीक्षणसँग सम्बन्धित संस्थाहरूले एक महिनाभित्र सम्पूर्ण नपुग पूर्वाधारहरू अनिवार्य रूपमा पुरा गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

वैदेशिक रोजगार विभाग तथा अन्य निकायहरूले अनुगमन कार्यलाई प्रविधिको प्रयोग मार्फत तीव्रता एवं नियमितता दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

त्यस्तै वैदेशिक रोजगारमा जाने कामदारहरूलाई अनिवार्य रूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिएर मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था मिलाउने र अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ को दोस्रो संशोधनका प्रावधानहरूलाई क्रमश: कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।

सबै प्रतिवद्धताहरूको कार्यान्वयनमा वैदेशिक रोजगार व्यवसायी संघले आवश्यक सहयोग र सकारात्मक भूमिका निर्वाह गर्ने संघले प्रतिबद्धता जाहेर गरेको थियो ।

मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले कार्यक्रममा पूर्व प्रस्थान अभिमुखीकरण तालिम एवं स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूबारे मन्त्रालयले गरेको अनुगमन प्रतिवेदनहरू प्रस्तुत गरिएको बताए । कार्यक्रममा प्रस्थान अभिमुखीकरण तालिम र स्वास्थ्य परीक्षण कार्यमा देखिएका कमजोरी औँल्याउँदै यसलाई बढी प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको उनको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: