शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा ज्यान गुमाएका दुईजनाका परिवारलाई सरकारले १०–१० लाख रुपैया राहत दिने भएको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रति परिवार १० लाख रुपैयाका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय पनि गरेको छ । मन्त्री शर्माका अनुसार बैठकले घटनाका सम्बन्धमा निष्पक्ष छानविन गरी कारबाही गर्न र भविष्यमा यस्ता घटना हुन नदिने निर्णय समेत गरेको छ । शुक्रवार बालकुमारीमा भएको प्रदर्शनका क्रममा आक्रोशित भीडले भौतिक योजना मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा एकजनाको प्रहरीको गोली लागेर तथा अर्का एकजनाको कुटपीटका कारण मृत्यु भएको थियो ।