काठमाडौं, कोरियाली भाषा परीक्षा दिन नपाएपछि प्रदर्शनमा उत्रिएकाहरुलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीसॅगको झडपमा परेर दुईजनाको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन पाउनु पर्ने माग सहित प्रदर्शनमा उत्रिएकाहरुको प्रदर्शन उग्र भएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस तथा गोली प्रहार गरेको थियो । झडपमा परेर घाइते भएका मध्ये एकजनाको किष्ट अस्पतालमा र अर्को एकजनाको पाटन अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । यसैगरी मृत्यु हुने अर्का वीरेन्द्र साह रहेका छन् । राउतको किष्ट अस्पतालमा तथा साहको पाटनमा मृत्यु भएको हो ।

यस अगाडी प्रदर्शनमा उत्रिएकाहरुले सडक अवरुद्ध पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका थिए । त्यसपछि प्रहरीसँग दोहोरो झडप सुरु भएको थियो ।

कोरियामा इपिएस अन्तर्गत जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएकाहरु मध्ये सो परीक्षामा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै आन्दोलन गरेका हुन् । परीक्षामा अनुत्तिर्ण भएका उनीहरु शुक्रवार विहानै बालकुमारीस्थित सडकमा जम्मा भएका थिए ।

प्रदर्शनकारीहरु मध्ये १० जना पक्राउ परेका छन् । यो समाचार तयार पारेको समयमा पनि बालकुमारी क्षेत्रमा प्रहरीले प्रदर्शनमा उत्रिएका युवालाई पक्राउ जारी राखेका कारण यो संख्या बढ्ने छ । प्रदर्शनकारीहरुले सातदोबाटोसम्म रहेका सडक डिभाइडरहरु विभिन्न ठाउँमा भत्काएका छन् ।

यसअघि ईपीएस अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि थप १८ जनाले आवेदन फाराम भरेका थिए । सीप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएका सुरज पाठकसहितका १८ जनाले आवेदन फाराम भरेका हुन् । उनीहरूले आज शुक्रवार बिहान ईपीएस कोरिया शाखा कार्यालयमा आएर फाराम भरेर गएका हुन् । कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले उनीहरूले आवश्यक कागजातसहित कार्यालयमा आएर फाराम बुझाएर गइसकेको बताए ।

सीप बिल्डिङका लागि आवेदन दिएकाहरूलाई हाल खुलेको उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भन्ने थियो । त्यसका विरुद्धमा पाठकसहित १८ जनाले अदालतमा मुद्दा हालेका थिए । सो मुद्दामा अन्तरिम आदेश जारी गर्दै उनीहरूलाई आवेदन फाराम भर्न दिनु र प्रक्रियामा सहभागी गराउनु भनेको थियो । सोही आधारमा उनीहरूलाई आवेदन फाराम भर्ने प्रक्रियामा सहभागी गराइएको निर्देशक सुवेदीले बताए ।

उनीहरूसँगै सीप बिल्डिङ क्षेत्रमा आवेदन दिएका २८ हजार भन्दा बढीले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाएनन् । त्यसैले फारम भर्न नपाएकाहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आफूहरूले समेत आवेदन फाराम भर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: