काठमाडौं, नक्कली कागजात तयार पारेर भिजिट भिसामा नेपालीलाई विदेश पठाएको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी, अध्यागमनका कर्मचारी देखि ट्राभल एजेन्सी सञ्चालकहरु समेत छन् । यो एउटा गिरोह नै भएको प्रहरीको भनाई छ ।
यसरी नक्कली कागजातका आधारमा भिजिट भिसामा पठाउने गरेको अभियोगमा संलग्न रहेको भनिएकाहरुलाई बुधवार प्रहरीले सार्वजनिक गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म सो प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् । उनका अनुसार नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउन अध्यागमन विभागदेखि प्रहरी र वायुसेवा निगमका कर्मचारीको समेत मिलेमतो हुने पाइएको छ ।

प्रहरीले लामो समयदेखि गरेको अनुसन्धानबाट नक्कली कागजपत्र बनाएर भिजिट भिसामा पठाउन गिरोह नै सक्रिय भएको र त्यसमा अध्यागमन विभागदेखि, निगमका कर्मचारी र प्रहरीकै संलग्नता हुने तथ्य पत्ता लगाएको हो ।

नक्कली कागजात बनाएको अभियोगमा नेपाल वायुसेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । सर्वसाधारणलाई भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने गिरोहमा संलग्न भएको आरोपमा होमनाथ पोखरेललाई उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । नक्कली कागजात प्रकरणमा प्रहरीले यसअघि १३ जनालाई पक्राउ गरेको थियो ।

यही गिरोहमा संलग्न रहेको आधारमा अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्का, वायु सेवा निगमका कर्मचारी अरबिन यादव र पोखरेललाई पक्राउ गरी सार्वजनिक गरेपछि नक्कली कागजात बनाएर भिजिट भिसामा हुने गरेको सेटिङ सम्वन्धि जानकारी सार्वजनिक भएको हो । यसअघि अपराध अनुसन्धानकै टोलीले यो गिरोहमा संलग्न रहेको आरोपमा विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरेको थियो । उनले १० हजार रुपैयाँ लिएर विदेश पठाउन सहजीकरण गरिदिएको प्रहरीको दावी छ । प्रहरीले यही गिरोहका ६ जना कन्सल्टेन्सी सञ्चालकहरूलाई पनि यसअघि नै पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे प्रहरी हिरासतमा छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: