इजरायलबाट स्वदेश फर्किन चाहनेलाई सरकारले फर्काउने

सरकारले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि जहाज पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको विशेष बैठकले नेपाल फर्किन चाहनेका लागि जहाज पठाउने निर्णय गरेको हो ।

अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरू नेपाल आउन चाहेमा सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार इजरायलबाट नेपाल फर्कन चाहने सबैलाई सरकारले खर्च बेहोर्ने छ ।

इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने छ । अनलाइन फारम भरेका आधारमा संख्या पुगेपछि उनीहरूलाई लिन जहाज पठाइने मन्त्रिपरिषद्को निर्णयमा छ ।

इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिनेसमेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ । इजरायलस्थित नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने छ ।

नेपाल फर्कन चाहने नेपालीहरूलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने पनि मन्त्रिपरिषद्को विशेष बैठकले निर्णय गरेको छ । सरकारले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने पनि सोमबारको बैठकको निर्णय छ । इजरायलमा करिब ४ हजार ५ सय नेपाली रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: