
चालु आर्थिक बर्षको ११ महिनामा प्रति महिना १ खर्वका दरले विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत साउन देखि जेठ मसान्तसम्म विदेशबाट ११ खर्ब १२ अर्ब रुपैयाँ नेपाल पठाएका हुन् ।
गत बर्षको तुलनामा यस बर्ष नेपाल भित्रिने रकममा भारी वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म आएको विप्रेषण गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२ दशमलव ७ प्रतिशत धेरै हो ।
अमेरिकी डलरमा समेत नेपाल भित्रिने रकममा वृद्धि भएको छ । यस अवधिमा यस्तो वृद्धि १३ प्रतिशत देखिएको छ । चालु आर्थिक बर्षमा हालसम्ममा ८ अर्ब ५१ करोड रकम डलर नेपाल भित्रिएको हो ।
गत जेठसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५९ हजार ४ सय १५ जना पुगेको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा ४६ दशमलव ६ प्रतिशत धेरै हो । वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या ०.५ प्रतिशतले बढेर २ लाख ६० हजार २ सय ६२ जना पुगेको छ ।