मलेसियामा रोजगारी: के गर्न हुन्छ के गर्न हुन्न ?  (जान्नै पर्ने कुराहरु)

पश्चिममा थाईल्यान्ड, उत्तरमा सिङ्गापुर, पूर्वमा ईन्डोनेसिया पर्ने मुलुक मलेसिया समुन्द्रले घेरिएको छ । सो देशमा प्रशस्त समथर भूभाग र पहाडहरु छन् ।

मलेसियाको औषत तापक्रम २७ डिग्रीको हाराहारीमा रहने र प्राय: सामान्य गर्मी जस्तै भए पनि नेपालीका लागि अनुकूल नै वातावरण हुन्छ । मलेसिया बहुजातीय र बहुसांस्कृतिक ईस्लामिक देश हो । राष्ट्रिय धर्म ईस्लाम रहेको मलेसियाको संविधानले धार्मिक स्वतन्त्रताको ग्यारेण्टी गरेको छ ।

मलेसियामा ईलेक्ट्रोनिक्सका सामग्रीहरु, प्लाष्टिक सामग्रीहरु, काठ, रवर आदि उत्पादन तथा प्रशोधन गर्ने ठूला कलकारखानाहरु छन् । यसका साथै कृषिमा पनि धेरै आप्रवासी श्रमिकले काम गर्दछन् ।

मलेसियाको राजधानी क्वालालम्पुर हो र मुद्रालाई रिंगिट भनिन्छ । सो मुलुकको राष्ट्रिय भाषा भाहासा (भासा) हो तर सो मुलुकमा अंग्रेजी, मन्दारिन, तमिल लगायतका भाषा पनि बोलिन्छन् ।

-मलेसियाको राजधानीको नाम के हो ?
मलेसियाको राजधानी क्वालालम्पुर हो ।

-मलेसियाका मुख्य शहरहरु कुन–कुन हुन् ?
मलेसियाका मुख्य शहरहरु राजधानी क्वालालम्पुरका साथै जोहोरबारु, पेनाङ्ग, इप्पो, साहआलम, मलक्का लगायत रहेका छन् ।

-मलेसियाका छिमेकी देशहरु कुन कुन हुन् ?
मलेसियाको छिमेकी मुलुकहरु सिङ्गापुर, ईन्डोनेसिया, ब्रुनाई, थाईल्याड हुन् ।

– मलेसियाको मौसमी वातावरण कस्तो हुन्छ ?
मलेसियामा न्यूनतम तापक्रम २२ डिग्री देखि अधिकतम तापक्रम ४० डिग्रीसम्म पुग्ने गर्दछ । यहाँको औषत तापक्रम २७ डिग्रिको हाराहारीमा रहने गर्दछ । मलेसियाको सदाबहार मौसम प्राय: गर्मी नै हुने गर्दछ । यहाँ अधिकांश समय वर्षा भईरहने हुनाले हरियाली देख्न पाईन्छ ।

– मलेसियाको जनसंख्या कति होला ?
डिसेम्बर २०१९ सम्ममा मलेसियाको जनसंंख्या तीन करोड ३६ लाख पुगेको थियो । जनसंख्याको बारेमा प्रत्यक्ष विवरण अनलाईनमा देखाउने जततउकस्ररधधध।धयचमियmभतभचक।ष्लाय मा गएर पनि हाल मलेसियाको जनसंख्या कति छ भनेर हेर्न सकिन्छ ।

– कुन–कुन देशबाट आप्रवासी श्रमिक मलेसियामा जाने गर्दछन् ?
मलेसियामा आप्रवासी श्रमिकको संख्या उल्लेख्य छ । ईन्डोनेसिया, म्यानमार, वंगलादेश, कम्बोडिया, नेपाल, भारत, फिलिपिन्स लगायतका मुलुकका श्रमिकहरु मलेसियामा काम गर्नका लागि जाने गर्दछन् । ति मध्ये पनि ईन्डोनेसिया तथा वंगलादेशका श्रमिकको संख्या बढी छन् ।

– मलेसियामा कुन–कुन धर्म मान्नेहरुको बाहुल्यता छ ?
सन् २०१० मा गरिएको जनगणना अनुसार मलेसियामा इस्लाम धर्म मान्नेहरु ६१.३% थिए भने क्रमश: १९.८% बौद्ध, ९.२% ईसाइ ६.२% हिन्दुका साथै ३.४% परपरागत चाईनिज धर्म मान्नेहरु थिए । मलेसियाको संविधानले कुनै पनि धर्मलाई स्वतन्त्र रुपमा मान्न पाईने व्यवस्था गरेको छ । सो मुलुकमा विभिन्न धर्म मान्नेहरुले आ–आफ्नो धर्म अनुसारका चाडपर्वहरु मनाउने गर्दछन् ।

– मलेसियामा कुन – कुन भाषा बोलिन्छ ?
मलेसियाको राष्ट्रिय भाषा भाहासा (भासा) हो र सो मुलुकमा अंग्रेजी, मन्दारिन, तामिल लगायतका भाषा पनि चलन चल्तिमा छन् ।

– मलेसियाको शासन व्यवस्था कस्तो छ ?
मलेसिया संघीय संवैधानिक राजतन्त्रात्मक प्रणाली भएको देश हो र त्यहाँ प्रधानमन्त्री कार्यकारी प्रमुख हुने व्यवस्था छ । त्यहाँ कुल १४ वटा राज्यहरु छन् र प्रत्येक राज्यमा मुख्य शासकहरुले राज्य प्रमुखको हैसियतमा राज्य चलाउने गर्दछन् ।

– मलेसियाको मुद्राको नाम के हो ?
मलेसियाको मुद्रालाई रिंगिट भनिन्छ । नेपाली रुपैंयासँगको सटही मूल्य तुलना गर्नका लागि नेपाल राष्ट्र वैंकको वेवसाईट Foreign Exchange Rate – नेपाल राष्ट्र बैंक (nrb.org.np)  मा गई हेर्न सकिन्छ ।

– मलेसियामा साप्ताहिक बिदा कुन दिनमा हुन्छ ?
मलेसियामा शनिबार र आईतबार दुई दिन सरकारी साप्ताहिक बिदा हुने गर्दछ । यी दुई दिन सरकारी कार्यलयहरु बन्द हुने गर्दछन् । श्रमिकको हकमा भने साप्ताहिक बिदा एक दिन मात्र दिईन्छ र कामको प्रकृति हेरेर जुनसुकै दिनमा पनि हुन सक्दछ ।

– मलेसियामा हुने सार्वजनिक बिदाहरु कुन – कुन हुन् ?
मलेसियामा अंग्रेजी नयाँ वर्ष, चिनिया नयाँ वर्ष, मे दिवस, हरिराया, नेशनल डे, क्रिसमस, राजाको जन्मदिन, दिपावली आदिमा सार्वजनिक विदा दिइन्छ । तर संघीय कानुन अनुसार विभिन्न राज्यहरुमा अन्य केही बिदाहरु पनि हुने गर्दछन् ।

– नेपाल र मलेसियाको समयमा के कति फरक छ ?
नेपाल मलेसिया भन्दा २ घण्टा १५ मिनेट ढिलो छ । उदाहरणका लागि नेपालमा दिउँसोको १ बजिरहेको छ भने मलेसियामा दिउँसोको ३ बजेर १५ मिनेट गएको हुन्छ ।

– मलेसियाको आम्दानीको मुख्य स्रोतहरु के–के हुन् ?
मलेसियाको मुख्य आम्दानीको स्रोतमा ईलेक्ट्रोनिक्स सामानहरु, प्लाष्टिकका सामग्रीहरु, काठ, रवर, पाम आदि पर्दछन् । यसका साथै पर्यटन र कृषि पनि मलेसियाको आम्दानीको स्रोतमा पर्दछ ।

– मलेसियाबाट नेपाल तथा नेपालबाट मलेसिया फोन गर्नुपर्ने भएमा डायल कोड कति डायल गर्ने ?
मलेसियाबाट नेपाल फोन गर्नुपर्ने भएमा फोन नम्बरको अगाडि +९७७ डायल गर्नुपर्दछ भने नेपालबाट मलेसियामा फोन गर्नुपर्ने भएमा फोन नम्बरको अगाडि +६० डायल गर्नुपर्दछ ।

– मलेसियाको सार्वजनिक स्थलको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरु के–के हुन ?
मलेसियाको सार्वजनिक स्थलमा रहँदा वा हिंड्दा धेरै कुरामा ध्यान दिनुपर्दछ । सार्वजनिक स्थानमा बस्न मिल्ने वा नमिल्ने ठाउँ तथा हिड्न पाईने वा नपाईने ठाऊँका बारेमा विभिन्न किसिमका संकेतहरु दिएर जानकारी गराइएका हुन्छन् । सो बारेमा चनाखो भई सोही अनुसार संकेत चिन्हहरुको प्रयोग गर्नुपर्दछ ।

मलेसियाको सार्वजनिक स्थलहरुमा धुम्रपान मनाही छ । मलेसियामा बन्देज लगाइएका स्थानहरुमा धुम्रपान गर्ने व्यक्तिलाई १० हजार रिङ्गिट जरिवाना र दुई बर्षसम्म कैदको सजाय हुन सक्दछ ।

सार्वजनिक स्थलमा फोहोर गर्नु हुँदैन । आफूले खाएर बाँकी रहेका फ्याँक्नु पर्ने खानेकुरा, बोतलहरु, झोला लगायतका वस्तुहरु फोहोर फाल्नका लागि तोकिएको निश्चित ठाउँमा मात्र फाल्नु पर्दछ । यस्ता फोहोर फाल्ने ठाऊँहरु सडकका छेउछाउमा राखिएका हुन्छन् । सार्वजनिक ठाऊँमा फोहर फाल्ने, दिसापिसाव गर्ने, हो–हल्ला गर्ने, जाँड रक्सीे सेवन गर्ने जस्ता विषयहरु सार्वजनिक अपराध अन्तर्गत पर्ने गर्दछन् । यसो गरेमा आर्थिक जरीबाना तथा जेलसमेत पर्ने सम्भावना हुन्छ ।

मलेसियामा मानव अधिकारका लागि काम गर्ने उद्देश्यले विभिन्न संघसंस्थाहरु खोलिएका छन् । तिनीहरु मध्ये मलेसियाको सरकारले गठन गरेको मानव अधिकार संस्था एक रहेको छ जसलाई मलाया भाषामा सुहाकाम (क्ग्ज्ब्प्ब्:० भनिन्छ । यसको अर्थ मानव अधिकार आयोग भन्ने हुन्छ । सो संस्थाले मलेसियाली नागरिक होस वा अन्य कुनै देशको व्यक्ति, सबैको मानव अधिकारको पक्षमा आवाज उठाउने गर्दछ ।

आप्रवासी कामदारहरुले पनि आफ्नो मानव अधिकार हनन्को विषयमा सुहाकाममा उजुरी दिन सक्दछन् । यस संस्थाले विशेषत: मानव अधिकारको विषयमा जागरुक बनाउनका लागि सूचनामूलक सामग्रीहरु विभिन्न भाषामा प्रकाशित गरी सुसूचित गर्ने काम गर्दछ ।
मलेसिया विभिन्न मुलुकका नागरिकका लागि काम गर्न जाने गन्तव्य मुलुकको रुपमा चिनिन्छ । सो मुलुकमा ईन्डोनेसिया, फिलिपिन्स, भियतनाम, चीन, कम्बोडिया, म्यानमार, नेपाल, बंगलादेश लगायतका मुलुकहरुबाट रोजगारीका लागि श्रमिकहरु जाने गर्दछन् । मलेसियाको मानव वेचविखन विरुद्धको कानुन, २००७ ले मानव वेचविखनलाई गम्भीर अपराधको रुपमा ब्याख्या गरेको छ । मानव वेचविखन भएको खण्डमा सम्पर्क गर्नका लागि ९९९ आपत्कालीन नम्बरको व्यवस्था छ ।

मलेसियामा महिलालाई कुनै पनि काम गर्न वा हिंड्डुल गर्नका लागि कुनै पनि रोकतोक लगाईएको छैन । सो मुलुकमा विभिन्न देशहरुबाट आएका महिला श्रमिकहरु रोजगारीमा संलग्न छन् । आप्रवासी महिला श्रमिकले मुख्य गरि उत्पादनमुलक क्षेत्र (कलकारखाना), घरेलु श्रमिक, सेवा क्षेत्र आदिमा काम गर्ने गर्दछन् । मलेसियाको कानूनले कुनै लैङ्गिक विभेद गरेको छैन । तर यदाकदा यौनजन्य हिंसा तथा दुव्र्यवहारका घटनाहरु भने हुने गरेको पाईन्छ । यस्ता घटनाहरु विशेषगरी आप्रवासी श्रमिकमाथि हुने गरेको छ । यदि कुनै हिंसा तथा दुव्र्यवहार भएको खण्डमा नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन सक्ने व्यवस्था छ ।

कार्यस्थल, वासस्थान वा विदाका समयमा बाहिर निस्कने बेलामा सडक कसरी प्रयोग गर्ने भन्ने जानकारी राम्रोसँग लिनु पर्दछ । मलेसियामा पनि नेपालमा जस्तै गाडीहरु सडकको देब्रे तर्फबाट गुड्दछन् तर नेपालको सडकको औसत चौडाई दुई लेनको हुन्छ जसको अर्थ एक पटकमा दायाँ र वायाँतर्फ गरेर जम्मा दुईवटा गाडी आवतजावत गर्न सक्दछन् । तर मलेसियामा सडकको औसत चौडाई चार लेनको हुन्छ । यस्तै मलेसियामा सवारी साधनहरु नेपालको भन्दा बढी गती (स्पिड)मा चल्ने भएकोले सुरुमा सडक प्रयोगमा असजिलो हुन सक्दछ ।

मलेसियाको रोजगारसम्बन्धी कानुनमा स्वदेशी तथा विदेशी श्रमिकबीचमा भेदभाव छैन । सो मुलुकमा रोजगारी, औद्योगिक सम्बन्ध, ट्रेड यूनियन, सामाजिक सुरक्षा, निवृत्तिभरण, करार, पेशागत सुरक्षा तथा स्वास्थ्यका विषयमा फरक–फरक कानुनहरु छन् । मलेसियामा रोजगार सम्बन्धी कुनै समस्या आईपरेमा त्यस्ता समस्या हेर्नका लागि तोकिएका फरक–फरक निकायहरु खडा गरिएका छन् । रोजगारदाता तथा श्रमिकका कर्तव्य तथा अधिकारहरुलाई कानुनले निर्दिष्ट गरेको छ । त्यसो त मलेसियामा पनि रोजगारदाताले श्रमिकको सम्पूर्ण जिम्मेवारी लिनु पर्ने कानुन छ तर खाडी मुलुकहरुमा जस्तै ‘कफाला’ जस्तो प्रणाली नभई भिन्दा भिन्दै ऐनहरुले रोजगारीका विषयहरुलाई नियमन गर्दछ ।
सन् १९५५ को रोजगार ऐन तथा सन् १९६७ को औद्योगिक सम्बन्ध ऐन मलेसियाको मुख्य रोजगार कानुन हुन् । यि कानूनहरुले रोजगारदाता तथा श्रमिकको अधिकार, दायित्व तथा उनीहरु बिचको सम्बन्ध लगायतका विषयहरुलाई सम्बोधन गर्दछन् । त्यसपछि वनेका विभिन्न कानुनमा पनि श्रमिक तथा रोजगारदाताहरुको द्विपक्षीय लाभका अन्य विषयहरु समेटिएको छ । ति कानुनहरुले रोजगारदाता तथा श्रमिकका कर्तव्य तथा अधिकारका विषयमा स्पष्ट व्याख्या गरेका छन् ।

नेपाल सरकार र मलेसिया सरकारबीच सन् २०१८ मा भएको श्रम समझदारीमा समेटिएका मुख्य विषयहरु:
– रोजगारीका लागि मलेसिया जाँदा नेपाली श्रमिकको भिसा, टिकट शुल्क रोजगारदाताले उपलव्ध गराउने,
– नेपालमा गरिएको स्वास्थ्य परीक्षणको शुल्क श्रमिकले मलेशिया पुगेर काम सुरु गरेपछि पहिलो महिनाको तलबसँगै रोजगारदाताले उपलव्ध गराउने,
– रोजगार करार सम्झौता दुई वर्षको हुने,
– श्रमिकले प्राप्त गर्ने तलब बैंक खाता मार्फत भुक्तानी हुने,
– नेपाली श्रमिक मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टा भित्रमा रोजगारदाताले गन्तव्य स्थलमा लैजानु पर्ने,
– मलेसियामा कार्यरत नेपाली श्रमिकका परिवारको निकटतम सदस्यहरु (बाबु,आमा, श्रीमान् वा श्रीमती,छोरा, छोरी) को मृत्यु भएमा बढीमा १५ दिनको विदामा स्वदेश फर्किन पाउने,
– कार्यस्थलमा हुने दुर्घटना बीमा र स्वास्थ्य बीमा मलेसियाको कानुन अनुसार नेपाली श्रमिकले पनि प्राप्त गर्ने,
– रोजगारदाता कम्पनीले श्रमिकलाई दुव्र्यवहार गरेमा वा कुनै शारीरिक तथा मानसिक हिंसा गरेमा श्रमिकले कानुनी प्रक्रिया पूरा गरेर अर्को काम खोज्न पाउने आदि ।

मलेसियामा रोजगारीको क्रममा रहँदा यी विषयहरुमा ध्यान दिनु होस्:
– रोजगार करार सम्झौता अवधिभित्र आफूखुशी रोजगारदाता परिवर्तन गर्नु हुँदैन । कसैको लहैलहैमा लागेर रोजगारदाता परिवर्तन गरेमा गैरकानुनी भएर कानुनी समस्यामा परिन्छ ।
– जति समयावधिका लागि रोजगार सम्झौता गरेर मलेसिया गएको हो सो समयभन्दा बढी बस्नु हुन्न । सम्झौताको अवधि सकिएपश्चात स्वदेश फर्किनु पर्दछ । यदि बढी समयसम्म बसेमा अलेखवद्ध हुने भएका कारण विभिन्न खालका समस्याहरु आई पर्दछन् । पुन: सोही कम्पनीमा नै रोजगारीका लागि जान ईच्छुक भएमा रोजगार सम्झौता सकिएपश्चात छुट्टीमा नेपाल आएर पुन: श्रम स्वीकृति लिएर जानु पर्दछ ।
– कम्पनीले उपलव्ध गराएको परिचयपत्र सदैव साथमा बोकेर हिंड्नु पर्दछ ।
– धेरै रकम साथमा राख्नुहुन्न, मासिक रुपमा तलव प्राप्त भएपश्चात नेपालमा आफ्नो वा आफ्नो परिवारको सदस्यको बैंक खातामा रकम पठाउनु पर्दछ ।
– कुनै चिठ्ठा वा उपहार पर्ने आश्वासनका खेलहरु खेल्नु हुँदैन जसले सर्वस्वहरण भएका उदाहरणहरु पनि छन् ।
– धूम्रपान तथा मद्यपान गर्नु तथा होहल्ला गर्नु हुँदैन ।
– करार सम्झौतामा तोकिए अनुसारको काम, तलव नपाएमा वा अन्य कुनै समस्या आइपरेमा नेपाली दूतावासमा सम्पर्क गरी मद्दत लिनु पर्दछ ।
– सडकमा तीव्र गतिमा गाडी गुड्ने भएका कारण सडकमा हिंड्दा, बाटो काट्दा विशेष ध्यान दिनुपर्दछ ।

मलेसियामा श्रमिकको सामाजिक सुरक्षा (सोक्सो) सम्वन्धि जानकारी

मलेसियामा स्वदेशी तथा श्रम स्वीकृति लिएर रोजगारीमा संलग्न विदेशी श्रमिकलाई निजको रोजगारदाताले अनिवार्य रुपमा सो मुलुकको सामाजिक सुरक्षा सम्बन्धी काम गर्ने संस्था जसलाई सोक्सोमा आवद्ध गराउनु पर्ने व्यवस्था छ । १ जनवरी २०१९ देखि सोक्सोमा विदेशी श्रमिकलाई पनि आवद्ध गर्ने व्यवस्था मलेसिया सरकारले गरेको छ ।

सोक्सोमा आवद्ध श्रमिक कार्यस्थलमा कुनै दुर्घटनामा परेमा वा व्यवसायजन्य स्वास्थ समस्या भई उपचार गर्नुपर्ने भएमा श्रमिकले उपचार वापतको रकम सो कोषबाट प्राप्त गर्दछन् । यसैगरी कथम्कदाचित कामकै दौरानमा हुने दुर्घटना वा व्यवसायजन्य स्वास्थ समस्याका कारण जीवनभर काम गर्न नसक्ने भएमा आंशिक समय वा आजीवन निर्वाह भत्ता प्राप्त गर्ने व्यवस्था छ । यसैगरी कुनै श्रमिकको मृत्यु हुन गएमा निजको परिवारले त्यस्तो निर्वाह भत्ता आजीवन पाउनुका साथै काजकिरिया वापतको खर्च पनि पाउने व्यवस्था छ ।

सोक्सोमा आवद्ध हुन सम्वन्धित रोजगारदाताले आफ्ना श्रमिकको तलबको निश्चित प्रतिशत बराबरको रकम सो कोषमा योगदान गरेको हुनु पर्दछ । सो कोषमा श्रमिकको तलबको १.२५ प्रतिशत रकम रोजगारदाताले नै जिम्मा गर्नुपर्दछ, यसवापत आप्रवासी श्रमिकको पारिश्रमिकबाट कुनै रकम कट्टा गर्न पाइन्न ।

मलेसियाको सरकारी निकाय, स्वरोजगार तथा घरेलु श्रमिकलाई भने सो कोषले समेट्दैन ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय