
विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्नु भन्ने सर्वोच्च अदालतको परमादेश किन कार्यान्वयन नगरेको हो भन्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले वर्तमान सरकारलाई कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले यस अगाडी जारी गरेको परमादेशक कार्यन्वयन नगरेको भन्दै नागरिक अभियन्ता नन्दराज उपाध्यायले मंगलबार सर्वोच्च अदालतमा रीट हालेका थिए । उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई विपक्षी बनाई अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता गरेका थिए । सो मुद्धामा सुनुवाई गर्दै न्यायाधीश चुडालको इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले यसअघि विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न कानुन निर्माण गरी व्यवस्था गर्नु भन्ने परमादेश दिएको थियो । कारण देखाउ आदेशमा के कति कारणले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगरिएको हो, सो को कारण लिखितरुपमा पेश गर्न आदेश दिइएको छ ।