झण्डै २२ लाख नेपाली विदेशमा

२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा रहेको पछिल्लो जनगणनाले देखाएको छ । यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेको पाइएको थियो ।

राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणामले देशभरका १५ लाख ५५ हजार ९ सय ६१ परिवारका सदस्यहरु विदेशमा रहेको देखाएको हो । कुनै परिवारबाट तीन जनासम्म विदेश गएको पाइएको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, विदेश जानेमा पुरुषको संख्या धेरै छ । विदेशमा रहेका मध्ये झन्डै ८२.२ प्रतिशत अर्थात् १७ लाख ९९ हजार ६७५ जना पुरुष छन्।

यसैगरी विदेशमा रहेका महिलाको संख्या ३ लाख ९० हजार ९ सय १७ रहेको छ । यो विदेशमा रहेकाहरु मध्ये १७.८ प्रतिशत हो। २०६८ सालको जनगणना अनुसार, १९ लाख २१ हजार ४९४ जना विदेशमा थिए।

तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको हो।

जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ। त्यस्तै, पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत छ।

यसैगरी, अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। यो देशको जनसंख्याको ०.००१ प्रतिशत हो।

यसअघि २०६८ सालमा भएको जनगणना अनुसार, देशको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो। तथ्याङ्क कार्यालयले गत कात्तिक २५ देखि मंसीर ९ गतेसम्म जनगणना गरेको थियो। यसको प्रारम्भिक नतीजा गत माघमा सार्वजनिक गरिएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय