श्रमिक महिला: किन सुध्रिएन अवस्था ?

श्रमिक महिलाको अवस्थामा सुधार ल्याउन ठूलो समय र धन लगानी भइरहे पनि किन त्यसमा अपेक्षित सुधार भएन भन्ने विषयमा यस क्षेत्रमा कार्यरतहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले राम्रा कानुन, नितिहरु बनाएर मात्र सुधार नहुने भन्दै व्यवहारमा परिवर्तन अनुभूत हुनुपर्ने बताए ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै साउथ एसिया जेण्डर प्ल्याटफर्मकी कोअर्डिनेटर निसी कपाहीले यति धेरै बर्षदेखि अभियान सञ्चालन गरिरहँदा पनि लैङ्गीक समानता किन प्राप्त भइरहेको छैन सोच्नुपर्ने विषय भएको बताइन् । उनले महिलालाई अहिलेको अवस्थाबाट एक तह उठाउन जरुरी रहेको भन्दै के हामी घरमा छोरा र छोरीबीच समान व्यवहार गर्दछौ भनेर प्रश्न पनि गरिन् । उनले छोरा र छोरीलाई समान अवसर दिन सुरु गरेमा मात्र समाजमा रहेको लैङ्गीक विभेद अन्त्य हुने धारणा राखिन् । केवल कानुन, नितिहरु मत्र बनाएर परिवर्तन नहुने भन्दै यसका लागि व्यवहारमा परिवर्तन जरुरी रहेको उनको भनाई थियो ।

सो अवसरमा बोल्दै प्रतिनिधिसभाकी सदस्य रमा कोइराला पौडेलले विभिन्न ट्रेड यूनियनहरुमा आवद्ध महिलाले संयुक्त रुपमा आवाज उठाएकै कारण धेरै उपलव्धीहरु हासिल भएको भन्दै आगामी दिनमा पनि त्यो एकता कायम रहनु पर्नेमा जोड दिइन् । उनले वर्तमान संघिय संसदमा श्रमिक प्रतिनिधिको संख्या नगन्य रहेका कारण आफूले अझ धेरै जिम्मेवारी वोध गरेको भन्दै वर्यिय प्रतिनिधित्वको आवाज बलियोसँग उठाउन आवश्यक रहेको बताइन् । उनले जातिय, क्षेत्रिय, लैङ्गीक प्रतिनिधित्व सुनिश्चित गरिएपनि तिनिहरु भित्र वर्गिय प्रतिनिधित्व सुनिश्चित नभएका कारण श्रमिकको प्रतिनिधित्व निति निर्माण तहमा कमजोर भएको धारणा राखिन् ।

यसैगरी कार्यक्रममा बोल्दै एफएनभी मोन्ट्रियलकी विल्मा रोसले नेदरल्याण्डको अनुभव सुनाइन् । उनले नेदरल्याण्डमा मार्च ८ को सन्दर्भमा पहिले महिला र्याली (वुमन्स मार्च) भनेर आयोजना गर्ने गरिएकोमा यस वर्ष फेमिनिष्ट मार्च भनेर आयोजना गरिएको बताइन् । महिलाले पुरुषको तुलनामा कम पारिश्रमिक, कम अवसर पाउने गरेको भन्दै नेदरल्याण्डमा अहिले पनि महिलाले पुरुषको तुलनामा १६ प्रतिशत कम पारिश्रमिक प्राप्त गर्ने गरेको जानकारी दिइन् । कार्यस्थलमा हुने हिंसा नेपालमा मात्र नभई संसारमा नै भइरहेको भन्दै हालै नेदरल्याण्डमा गरिएको एक अध्ययनले २१ प्रतिशत महिलाले आफूले हिंसा सहनु परेको र त्यसमध्ये आधाले त्यस्तो हिंसा पटक पटक सहन बाध्य भएको निश्कर्ष आएको उनको भनाई थियो । ट्रेड यूनियनहरुले लैङ्गीक निति बनाउन जरुरी रहेको भन्दै जिफन्टले यस अगाडी नै त्यस्तो निति बनाइसकेको जान्न पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् । महिलालाई नेतृत्व तहमा ल्याउन ट्रेड यूनियनहरुले तालिम, दक्षता अभिवृद्धि लगायतका कार्यक्रमहरुमा थप लगानी गर्न आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले हरेक संस्थाहरुबाट नै महिलालाई नेतृत्व तहमा पुर्याउन जोड दिनुपर्ने धारणा राखे । उनले जिफन्टको नेतृत्व तहमा शुन्यबाट सुरु भएकोमा हाल जिफन्ट राष्ट्रिय कमिटीमा ४० प्रतिशत पुगेको भन्दै आगामी दिनमा महासंघको महासचिव र अध्यक्ष जस्तो पदमा महिला पुग्नेगरी काम गर्नुपर्ने खाँचो औंल्याए । उनले अहिले जिफन्टका कुल सदस्यहरु मध्ये महिला सदस्यको संख्या १८ प्रतिशत रहेको भन्दै सदस्यता वृद्दिमा पनि ध्यान दिन आग्रह गरे ।

सो अवसरमा बोल्दै जिफन्टकी पूर्वउपमहासचिव पेम्वा लामाले महिला अहिले पनि धेरैजसो अनौपचारिक क्षेत्रको श्रममा आवद्ध रहेको र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई श्रमिकको रुपमा नहेर्ने समस्या रहेको बताए । त्यसलाई पनि श्रममा गणना गर्न आवश्यक रहेको भन्दै उनले विगतको ठूलो प्रयत्नका कारण हाल महिला नेतृत्व तहमा पुग्न सफल भएको तर अझै पनि धेरै प्रयास गरी थप उपलव्धी हासिल गर्न जरुरी रहेको धारणा राखे ।

कार्यक्रममा सोलिडारिटी सेण्टरकी नेपाल प्रमुख लुना रञ्जित, इशारा इन्टिच्यूटकी कृष्मा शर्मा, एफएनभीकी अनामिका, जिफन्ट महिला कमिटी अध्यक्ष तथा जिफन्ट उपाध्यक्ष सीता लामा लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा जिफन्टले तयार पारेको शुन्यबाट ४० भन्ने वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय