विदेशबाट फर्किंदा कुन सामानमा भन्सार तिर्नुपर्छ र कुनमा पर्दैन भन्ने विषयमा अन्यौल छ ? यस सम्वन्धमा सरकारको निर्णय अनुरुप भन्सार विभागले भन्सार तिर्नु नपर्ने सामग्रीहरुको सूचि बनाएको हुन्छ ।
भन्सार विभागका अनुसार विदेशबाट आउनेले ल्याएका सुनका गहना ५० ग्रामसम्ममा कुनै भन्सार लाग्दैन । सो भन्दा बढी एक सय ग्रामसम्म सुनको गहनामा प्रति १० ग्राम १० हजार ५ सयको दरले भन्सार महसुल तिरेर ल्याउन पाइन्छ । यदि त्यो भन्दा बढी सुन बोकेमा थप १ सय ग्रामसम्म प्रति १० ग्राम रु. १२ हजार भन्सार महसुल तिरेर ल्याउन पाइन्छ । तर २ सय ५० ग्राम भन्दा बढी सुनका गहना ल्याएमा बढी भएजति जफत हुन्छ ।
उदाहरणका लागि यदि विदेशबाट आउँदा २ सय ६० ग्राम सुनका गहना बोकेर आएमा पहिलो ५० ग्राममा भन्सार महसुल लाग्दैन । त्यसपछिको ५१ ग्रामदेखि १ सय ग्रामसम्मको प्रति १० ग्राम १० हजार ५ सयको दरले १ लाख ५ हजार भन्सार महसुल तिर्नु पर्दछ । त्यो भन्दा थप १ सय ग्रामको प्रति १० ग्राम १२ हजारको दरले रु १ लाख २० हजार तिर्नु पर्दछ । यसरी २ लाख २५ हजार तिरेर २ सय ५० ग्राम सुन ल्याउन पाइन्छ । तर २ सय ५१ ग्राम भन्दा माथिको बाँकी सुन जफत हुन्छ ।
काँचो सुनको हकमा अधिकतम १ सय ग्रामसम्म भन्सार महसुल तिरेर ल्याउन पाइन्छ । काँचो सुनमा पहिलो ५० ग्राममा प्रति ग्राम रु ९ सय ५० रुपैंयाँको दरले भन्सार तिर्नु पर्दछ । थप ५० ग्रामसम्म प्रति ग्राम १ हजार ५० भन्सार महसुल लाग्दछ । १ सय ग्रामभन्दा बढी काँचो सुन ल्याएमा जफत हुन्छ ।
यसैगरी श्रम स्वीकृति लिएर गएको १२ महिना पुगेका व्यक्ति नेपाल फर्किदा एक पटकका लागि ३२ ईञ्चसम्मको टीभी नियम अनुसार कर तिरेर ल्याउन पाइन्छ ।
आफ्ना लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, डाक्टरले जारी गरेको पुर्जी बमोजिमको औषधि, शारीरिक सहाराको रुपमा प्रयोग गरेका सामान ल्याउँदा भन्सार महसुल तिर्नु पर्दैन । यसैगरी पेशागत प्रयोगका सामान्य प्रकारका सामानहरु जस्तै: ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलकुद सम्बन्धी सामान जस्तै फूटबल, भलिबल, बैडमिन्टन सेट, सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु १र१ थान ल्याउँदा भन्सार महसुल तिर्नु पर्दैन ।