श्रमिकको हकहीत संरक्षण गर्न गन्तव्य मुलुकसँग नेपालको अनुरोध

श्रम सचिव एकनारायण अर्यालले रोजगारीका लागि प्रवासमा कार्यरत नेपाली श्रमिकको हकहीत संरक्षणका लागि गन्तव्य मुलुकका सरकारसँग आग्रह गरेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको सरकार प्रमुखहरुको वर्ल्ड गभर्नमेण्ट समिट्मा वोल्दै सचिव अर्यालले नेपाली श्रमिकहरुले विभिन्न वहानामा समस्या भोगिरहेकाले उनीहरुको सुरक्षा र संरक्षणमा सम्बन्धित देशका प्रमुखहरुले ध्यान दिनुपर्ने वताए ।

चार दिनसम्म चलेको सो सम्मेलनमा सचिव अर्यालले नेपालको नेतृत्व गर्दै सहभागि भएका थिए । यस अगाडी तत्कालिन श्रम मन्त्री डोलप्रसाद अर्यालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागि हुने तय भएको थियो । तर रास्वपाले सरकारबाट वाहिरिने निर्णय गरेपछि मन्त्रीबाट अर्यालले राजिनामा दिएका थिए । सो सम्मेलनमा मध्य एशियाली देशहरूमा केन्द्रित रहेर श्रम वजारको अवस्था तथा श्रमिकको हकहितका सम्बन्धमा भएको समुहगत छलफलमा बोल्दै श्रम सचिव अर्यालले दिगो विकास, सेवा प्रवाहमा नविनतम प्रयोग, श्रम वजार, नयाँ प्रविधि, जलवायु परिवर्तन लगायतका विषयमा धारणा राखेका थिए ।

सो अवसरमा उनले रोजगारीका लागि विदेशिने नेपाली नेपालीको हकहित संरक्षणमा जोड दिँदै नेपालले हालै वैदेशिक रोजगारका क्षेत्रको सेवा प्रवाहमा गरेको प्रविधिको प्रयोग, सामाजिक सुरक्षामा सबै नेपाली श्रमिकहरूको आवद्धता, न्यायोचित भर्ना, भर्ना प्रक्रियामा देखिएका अनियमितता हटाउने, नेपाली श्रमिकहरूको सामाजिक सुरक्षाका विविध विषयहरूमा गन्तव्य मुलुकका सरकारहरूले ध्यान दिनु पर्ने विषय तथा व्यावसायिक तालिमको विषयमा पनि आफ्नो भनाई राखेका थिए ।

यसैवीच सचिव अर्यालले नेपाली श्रमिकका समस्या र समाधानका लागि संयुक्त अरब इमिरेट्सका मानव संशाधन मन्त्री डा. अब्दुलरहमान अल अवर र कतारका मानव संशाधन मन्त्री र सचिव तथा आइएलओका महानिर्देशक गिल्बर्ट होङबोसँग पनि भेटवार्ता गरेका थिए ।

फेब्रुअरी १२ देखि १५ सम्म सञ्चालन भएको सो सम्मेलनमा ९० भन्दा बढी देशहरूको सहभागिता रहेको थियो । २५ भन्दा बढी देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा स्रोत मुलुकहरूबीच श्रमिकहरूका समस्याका विषयमा साझा धारणा निर्माण गर्न वंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनामका श्रम मन्त्रीहरू र नेपाल सरकारका सचिववीच वैठक समेत भएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: