फेरिदै नेपालीको श्रम गन्तव्य, खाडी मुलुक जानेहरुको संख्यामा उल्लेख्य कमी

रञ्जना लम्साल/नवलपुर

मलेसियामा श्रमिकको अभाव चर्किएर विदेशी श्रमिक लिने प्रकृया तिव्र भएपछि त्यसको प्रभाव नेपालमा पनि परेको छ । पछिल्लो तीन महिनामा मात्र मलेसियामा रोजगारीका लागि जान ७६ हजार १ सय ४९ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन् । गत वर्षको सोही अवधिमा मलेसियाका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या १ हजार २ सय ४१ थियो ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत कात्तिकयताका तीन महिनामा सवैभन्दा धेरै नेपालीले मलेसियाका लागि श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार गत कात्तिकमा ३० हजार ५ सय ४०, मंसिरमा २५ हजार २ सय ७०, र पुषमा २० हजार ३ सय ३९ नेपालीले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । तीन महिनामा मलेसियाका लागि कुल ७६ हजार १ सय ४९ जनाले श्रम स्वीकृति लिएका छन् । यो कतार, साउदी अरेविया, युएई लगायतका मुलुकहरु भन्दा निक्कै बढी हो । पछिल्लो तीन महिनामा साउदी अरवमा रोजगारीका लागि जान ३४ हजार २ सय ४८ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । यसैगरी कतारका लागि ३२ हजार २ सय ७७ जनाले तथा युएईका लागि ३० हजार ७ सय ८८ जना नेपालीले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

गत वर्ष र चालु वर्षको कात्तिक, मंसिर र पुष महिनाको तथ्याङ्क विश्लेषण गर्दा यस वर्ष नेपालबाट खाडी जानेहरुको संख्या उल्लेख्य मात्रामा घटेको देखिएको छ । गत वर्ष यी तीन महिनामा नेपालबाट कतार जानेहरुको संख्या ६१ हजार २ सय ३९ रहेकोमा यस वर्ष त्यो घटेर ३२ हजार २ सय ७७ मा झरेको हो । यो अघिल्लो वर्षको भन्दा ४७ प्रतिशत कम हो ।

यसैगरी साउदी अरव जानेहरुको संख्यामा पनि उल्लेख्य कमी आएको छ । अघिल्लो वर्षको कात्तिक देखि पुष मसान्तमा ६७ हजार ७९ नेपालीले साउदी अरवमा रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा यस वर्षको सोही अवधिमा ३४ हजार २ सय ४८ नेपालीको रोजाईमा साउदी अरव परेको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले कम हो ।

युएईका लागि श्रम स्वीकृति लिनेको संख्या पनि झण्डै ३० प्रतिशतले ओह्रालो लागेको छ । गत वर्षको कात्तिकदेखि पुष मसान्तसम्म ४३ हजार ९ सय ११ जना नेपालीले युएईका लागि श्रम स्वीकृति लिएकोमा यस वर्षको सोही अवधिमा ३० हजार ७ सय ८८ जनाले अनुमति लिएका छन् ।

आप्रवासी श्रमिकका विषयमा अध्ययन अनुसन्धान गर्दै आएको संस्था ईक्वेडेमका दक्षिण एसिया निर्देशक रामेश्वर नेपाल गत वर्ष सो समयमा मलेसियाले आप्रवासी श्रमिक लिन सुरु गरिनसकेको र यस वर्ष त्यहाँ श्रमिकको चर्को अभाव पश्चात ठूलो संख्यामा श्रमिक भित्रियाउन सुरु भएका कारण मलेसिया जाने नेपालीको संख्यामा वृद्धि भएको हुन सक्ने धारणा राख्छन् । गत वर्ष विश्वकप फुटवल प्रतियोगिता आयोजना हुने वर्ष रहेका कारण छोटो समयका लागि पनि कतारले विदेशी श्रमिक भित्रियाइरहेको सन्दर्भमा कतार जाने नेपालीको संख्या बढेको हुन सक्ने र हाल सो माग घटेको नेपालको भनाई छ । उनले लामो समय रोकिएर मलेसियाको रोजगारी खुलेका कारण पनि मलेसियाबाट माग धेरै आएको र श्रमिकको ठूलो संख्यामा मलेसिया गएका कारण खाडी मुलुकहरु जानेहरुको संख्यामा कमी आएको हुनसक्ने तर्क गरे ।

यसैबीच गत पुषमा ६५ हजार ४ सय ६४ नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये पुरुषको संख्या ६० हजार ४ सय ३१ रहेको छ भनें महिला ५ हजार ३३ जना रहेका छन् । कुल ६५ हजार ४ सय ६४ मध्ये नयाँ ३८ हजार ८ सय ६४ जना हुन् भने पुन: श्रम स्वीकृति लिनेहरुको संख्या २६ हजार ६ सय रहेको छ । गत वर्षको पुषमा पनि लगभग उस्तै संख्यामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति जारी भएको थियो । २०७८ पुषमा ६६ हजार ६ सय २५ जना नेपालीले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय