श्रमिकलाई उचित आवास सुविधा नदिने रोजगारदातालाई कारवाहीको चेतावनी

मलेसियाका मानव संशाधन मन्त्री भी शिवकुमारले विदेशी श्रमिकलाई उचित आवास सुविधा नदिने रोजगारदातालाई कारवाही गर्ने चेतावनी दिएका छन् । उनले त्यस्ता रोजगारदातालाई कानुनी कारवाही हुने बताए ।

मले मेलका अनुसार मानव संशाधन मन्त्री शिवकुमारले विदेशी श्रमिकलाई उपलव्ध गराइएको आवासस्थलको मंगलवार निरिक्षण गर्दै यस्तो चेतावनी दिएका हुन् । रोजगारदाताले नाफा कमाउने उद्धेश्य राखिरहँदा आफूले काममा लगाएका श्रमिक प्रतिको दायित्व भुल्न नहुने बताएको समाचारमा जनाइएको छ ।

मंगलवार मन्त्री शिवकुमारले विदेशी श्रमिक बस्ने दुईवटा आवासस्थल हेरेका थिए जहाँ क्षमताभन्दा बढी मानिसलाई राखिएको पाइएको थियो । मन्त्री शिवकुमारले सरसफाइ, सुरक्षा, स्वास्थ्य लगायतका दृष्टिकोणले पनि यो गम्भीर विषय भएको बताएको समाचारमा जनाइएको छ । यसलाई उनले आफूले सामान्य रुपमा नलिने पनि बताएका थिए । उनले कुनै देशबाट मलेसिया ल्याइएका श्रमिकको सम्पूर्ण कुरामा मलेसियाकै रोजगारदाताहरु र सरकारको दायित्व हुने भएका कारण यसलाई नजरअन्दाज गर्न नहुने बताएका थिए ।

मन्त्री शिवकुमार निरिक्षण गर्न गएको एउटा आवासस्थलमा श्रमिकका लागि सुत्ने म्याट्रेस समेत नभएको पाइएको भन्दै यसमा तत्काल सुधार गर्न सवै रोजगारदातालाई मन्त्रीले सजग गराएका थिए । ठूलो संख्यामा विदेशी श्रमिक भित्रियाउने तयारीमा रहेको मलेसियाले विदेशी श्रमिकको बसोवासको विषयमा पनि यो चासो देखाएको हो । मलेसियाको सरकारी सञ्चार माध्यम बेर्नमाले गत हप्ता श्रमिकको चर्को अभाव भएपछि मलेसियाले तत्काल ५ लाख विदेशी श्रमिक भित्रियाउने तयारी गरिरहेको समाचार लेखेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय