कतार विश्वकप फुटवलको अन्तिम सिठ्ठी बज्नु अगाडी……………..

नेपालका तीन दर्जन अधिकारवादी संघ संस्थाहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई श्रमिकहरूको पीडालाई “बेवास्ता गर्ने कार्य बन्द गर्न” आग्रह गर्दै खुला पत्र पठाएका छन् । पारिश्रमिक बिना नै श्रमिकहरू नेपाल फर्कने र मृतक आप्रवासी श्रमिकहरूको शव नेपाल फिर्ता ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत काठमाडौंका विभिन्न स्थलहरूमा सँगसँगै एम्नेस्टी इन्टरनेसनलले बिलबोर्डमा सो सन्देश पनि प्रदर्शन गरेको छ ।

एम्नेस्टीद्दारा जारी विज्ञप्तीमा कतारले सन् २०१८ मा स्थापना गरेको क्षतिपूर्ति कोषमा नेपाल फर्किएका आप्रवासी श्रमिकहरू आफूले नपाएको तलब फिर्ता पाउने विषयमा कसरी पहुँचबाट बाहिर छन् र कसरी आफ्ना प्रियजनको मृत्युको कारणको अनुसन्धान नगरिंदा शोकसन्तप्त परिवारले क्षतिपूर्ति प्राप्त गर्न सकेका छैनन् भन्ने कुरामाथि प्रकाश पारिएको छ ।

“श्रमिकहरूको अधिकारको सम्मान गर्न र दुव्र्यवहारमा परेका श्रमिक र आफन्त गुमाएका परिवारहरूलाई क्षतिपूर्ति दिन सहमत भएको फिफालाई ति वाचाहरू पूरा गर्न जियानी इन्फान्टिनोलाई आव्हान गर्न हामी एक साथ आएका छौं”, प्रवासी नेपाली समन्वय समितिका कार्यकारी निर्देशक सोम प्रसाद लामिछानेले भनेका छन् ।

“कतारमा धेरै श्रमिकहरूले सामना गर्नुपरेको दुव्र्यवहारको वास्तविक मानविय मूल्य हामीलाई थाहा छ, परिवारहरू गरिबीको चपेटामा परेका छन्, बालबालिका विद्यालयबाट निकालिएका छन् र श्रमिकहरू ऋण तिर्नका लागि फेरी प्रवास जान बाध्य भएका छन् लामिछानेले भनेका छन्, फिफाले यस वास्तविकतालाई देखेको नदेख्यै गर्न मिल्दैन र यसलाई सच्याउन आवश्यक काम गर्नुपर्दछ ।”

सन् २०२२ फिफा विश्वकप आयोजना गर्न आवश्यक पर्ने विशाल पूर्वाधार परियोजना निर्माण लगायत कतारका विभिन्न क्षेत्रहरूमा नेपालका झण्डै चार लाख श्रमिक कार्यरत रहेको एम्नेस्टीको भनाई छ ।

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको भए पनि खाडीका मुलुकहरु र अन्यत्र काम गर्न जाने श्रमिकहरू नियमित रूपमा श्रम शोषणको शिकार हुँदै आएका छन् । नेपाली श्रमिकहरूले रोजगारी प्राप्त गर्नको लागि सामान्यतया एक लाख भन्दा बढी अवैध भर्ना शुल्क तिर्न बाध्य भइरहेका छन् ।

श्रमिकहरूले जोखिमपूर्ण अवस्थामा काम गर्नुपर्ने भएको कारण ज्यान पनि गुमाएका छन् र उनीहरूको मृत्युको बारेमा अनुसन्धान विरलै भएको एम्नेस्टीको भनाई छ । “यदि चरम गर्मीबाट श्रमिकहरूलाई पर्याप्त सुरक्षा दिइएको थियो भने सन् २००९ देखि २०१७ को बीचमा निर्माण क्षेत्रमा काम गर्ने कम्तीमा दुई सय नेपाली श्रमिकहरूको मृत्युलाई रोक्न सकिन्थ्यो भन्ने एउटा अध्ययनले देखाएको छ” विज्ञप्तीमा भनिएको छ ।
हालैका वर्षहरूमा कतारले श्रम कानूनलाई बलियो बनाउन धेरै सुधारहरू गरेको छ भने श्रमिकहरूमाथिको दुव्र्यवहार न्यूनीकरण होस् भन्ने उद्देश्यले नेपालमा नयाँ भिसा केन्द्र पनि खोलेको छ । यस्ता केही प्रगतिहरू भएको भएता पनि श्रमिकमाथि हुने दुव्र्यहारहरु उल्लेखनीय मात्रामा जारी नै रहेको एम्नेस्टीको ठहर छ ।

“विश्वकपको अन्तिम सिट्टी बज्दै गर्दा यति धेरै आप्रवासी श्रमिकहरूको योगदान र बलिदानलाई कतै बिर्सिइने त होइन र उनीहरूको न्याय र क्षतिपूर्तिको मागलाई बेवास्ता गरिने त होइन भन्ने एउटा ठूलो खतरा रहेको छ,” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने । “यदि फिफाले यो खेललाई सम्भव बनाउने मानिसहरूप्रति सम्मान देखाउन चाहन्छ भने जियानी इन्फ्यान्टिनोले अन्तत: श्रमिक र तिनका परिवारहरूलाई क्षतिपूर्ति सुनिश्चित गर्न सहमति जनाउनुपर्दछ । उनीहरूको मागदाबीलाई अव बेवास्ता गरिनु हुँदैन” थपलियाले भने ।

सन् २०२२ को मे महिनादेखि मानवअधिकार संघ संस्था, ट्रेड युनियन र फुटबल प्रेमीहरूको समूहको एउटा विश्वव्यापी सञ्जालले श्रमिकहरूलाई क्षतिपूर्ति दिन र भविष्यमा हुने दुव्र्यवहारहरु रोक्नका लागि फिफा र कतारलाई एउटा उपचारात्मक कार्यक्रम स्थापना गर्न आह्वान गरेको छ । यस आह्वानलाई १२ वटा फुटबल संघ र चारवटा फिफा प्रायोजकहरूले समर्थन गरेका छन् र जनमत सर्वेक्षणले यस आह्वानलाई १५ देशहरूमा जनताको एउटा ठूलो बहुमतले समर्थन गरेको देखिएको छ । यद्यपि, फिफाले श्रमिकहरूलाई क्षतिपूर्ति दिन अस्वीकार गर्दै आएको छ ।

गत सोमवार मानवअधिकारको क्षेत्रमा काम गर्ने संगठनहरूको एउटा अन्तर्राष्ट्रिय सञ्जालले श्रमिकहरूलाई क्षतिपूर्ति दिने विषयमा ’विश्वलाई भ्रमित गरेको’ भनी फिफाको आलोचना गरेको थियो । फिफा अधिकारीहरूले श्रमिकहरूलाई क्षतिपूर्ति सुनिश्चित गर्नेसम्बन्धी योजनामा काम गरिरहेको बताइरहेको भए तापनि विश्वकप खेलको पूर्वसन्ध्यामा जियानी इन्फान्टिनोले सो जिम्मेवारीलाई अन्यत्र पन्छाउँदै दुव्र्यवहार भोगेका श्रमिकहरूले कतारको विद्यमान क्षतिपूर्ति कोषबाटै “उचित क्षतिपूर्तिका लागि सम्बन्धित अधिकारीहरूलाई सम्पर्क गर्नुपर्दछ” भन्ने टिप्पणी गरेका थिए । तर सो संयन्त्र कतार छोडेर फर्किसकेकाहरूका लागि पहुँचयोग्य छैन । यसमा प्रत्येक श्रमिकलाई भुक्तान गर्न सकिने रकमको सीमा तोकिएको छ र अनुसन्धान नगरिएको कारण गलत तरिकाले ’प्राकृतिक कारण’ ले मृत्यु भएको जनाइएको हुनसक्ने मृतक श्रमिकका परिवारलाई पनि यस कोषले सहयोग गर्दैन ।

सञ्जालले जियानी इन्फ्यान्टिनोलाई हालसालै घोषणा गरिएको लिगेसी फण्डको प्रयोग गर्न, श्रमिकहरूलाई क्षतिपूर्ति दिन तथा बिल्डिंग र वुड वर्कर्स इन्टरनेसनल जस्ता ट्रेड युनियनहरूले अनुरोध गरेअनुसारको एउटा स्वतन्त्र आप्रवासी श्रमिक केन्द्र स्थापना गर्न आह्वान गरेको छ । प्रस्तावित कोषको आकार अहिलेसम्म सार्वजनिक गरिएको छैन र हाललाई यसमार्फत शैक्षिक परियोजनाहरू र योजनाबद्ध ’श्रम उत्कृष्टता केन्द्र’ लाई सहयोग गर्ने उद्देश्य राखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: