विश्वकप फुटवल प्रतियोगिताको तयारीमा ४ देखि ५ सय श्रमिकको मृत्यु: कतार

कतारले विश्वकप फुटवल प्रतियोगिताको तयारीका क्रममा सञ्चालन भएका परियोजनाहरुमा ४ सय देखि ५ सय श्रमिकको मृत्यु भएको बताएको छ । कतारमा आयोजना भइरहेको विश्वकप फुटवल प्रतियोगिताको आयोजक कतार सुप्रिम कमिटी फर डेलिभरीका महासचिव हसन अल थवादीले एक स्थानीय टेलिभिजन कार्यक्रममा यस्तो बताएको सिएनएनले समाचार प्रकाशित गरेको छ । यो संख्या पनि कतारले यस अगाडी सार्वजनिक गरेको संख्या भन्दा कयौं गुणा ठूलो हो । यसैगरी बेलायती सञ्चार माध्यम गार्जियनले दावी गरे भन्दा धेरै कम हो ।

टक टिभीमा प्रशारित कार्यक्रममा बोल्दै अल थवादीले विश्वकप फुटवल प्रतियोगिताको तयारीका क्रममा सञ्चालन भएका परियोजनाहरुमा काम गर्ने चार देखि पाँच सय व्यक्तिको मृत्यु भएको अनुमान गरिएको बताएका थिए । आफूसँग यकिन तथ्याङ्क नभएपनि एउटै व्यक्तिको मृत्यु पनि आफूहरुका लागि धेरै भएको बताएका थिए ।

अल थवादीले हरेक वर्ष स्वास्थ्य सुरक्षाको मापदण्डमा सुधार गरिएको जसका कारण निर्माणस्थलमा सुधार भएको दावी गरे । यहि महिना सिएनएनसँग कतारी अधिकारीले विश्वकप फुटवलका लागि रंगशाला निर्माण गर्ने क्रममा केवल तीनजना श्रमिकको ज्यान गएको तथा ३७ जना घाईते भएको जनाएका थिए । गत वर्ष बेलायती सञ्चार माध्यम गार्जियनले भनें कतारमा विश्वकप फुटवल प्रतियोगिताका लागि भौतिक संरचना निर्माणका दौरान सन् २०१० देखि २०२२ सम्ममा ६ हजार ५ सय दक्षिण एसियाली श्रमिकले ज्यान गुमाएको तर्क गर्दै समाचार प्रकाशित गरेको थियो । तर यो तथ्याङ्कलाई पुष्टि गर्ने आधार पनि दिइएको छैन ।

विश्वकप फुटवल प्रतियोगिताको पहिलो चरणका खेल सकिएर नकआउट चरण सुरु हुन लाग्दा पनि कतारमा आप्रवासी श्रमिकमाथि भएको भेदभाव र शोषणको विषय चर्को रुपमा उठिरहेको छ । यहि साता युरोपेली संसदले अन्यायमा परेका श्रमिक तथा तिनका परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउन कतार र फिफालाई अनुरोध गरेको थियो । तर कतारले भनें युरोपेली संसदको सो निर्णयमा कुनै तथ्य नरहेको भन्दै त्यसलाई खारेज गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय