कतारले खारेज गर्यो युरोपेली संसदको निर्णय

कतारको सुरा काउन्सीलले हालै युरोपेली संसदले गरेको निर्णय खारेज गरेको छ । युरोपेली संसदले कतारमा मानव अधिकारको अवस्था राम्रो नभएको, विश्वकप फुटवल प्रतियोगिताका लागि रंगशाला लगायतका भौतिक संरचना निर्माणका क्रममा शोषणमा परेका आप्रवासी श्रमिकलाई न्याय नदिएको, उनीहरुले पाउनु पर्ने क्षतिपूर्ति नपाएको निश्कर्ष निकालेको थियो । युरोपेली संसदले त्यसमा कतार सरकार र फिफाको ध्यानाकर्षण गराउँदै ति विषयलाई सम्वोधन गर्न माग गरेको थियो ।

संसदमा यस विषयलाई पारित गर्नु अगाडी भएको छलफलमा साँसदहरुले कतारमा वाकस्वतन्त्रतामाथिको नियन्त्रण, अन्य लिङ्गका व्यक्तिहरुलाई लगाइएको बन्देजको आलोचना गरेको जनाइएको छ । कतारले घुस दिएर विश्वकप फुटवल प्रतियोगिता आयोजनाको अधिकार जितेको समेत युरोपेली संसदले दावी गरेको थियो । कतारमा भौतिक संरचना निर्माणका क्रममा हजारौं विदेशी श्रमिकको मृत्यु भएको तथा घाइते भएको समेत सो संसदको दावी छ ।

संसदले कतारमा भएको आप्रवासी श्रमिकको मृत्युको बारेमा पूर्ण रुपमा अनुसन्धान गर्न पनि माग गर्दै शोषणमा परेका आप्रवासी श्रमिक तथा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउन पनि माग गरेको थियो ।

युरोपेली संसदले कतारमाथि गम्भीर आरोप लगाएपछि कतारको सुरा काउन्सीलले त्यसलाई खारेज गरेको हो । काउन्सीलको साप्ताहिक बैठक पश्चात बोल्दै काउन्सीलका प्रवक्ता हसन विन अव्दुल्लाह अल घनिमले कतार माथि लगाइएको निराधार आरोप खारेज गरिएको बताएका हुन् । द पेनन्सुला कतारका अनुसार प्रवक्ता अल घनिमले सो आरोप दिग्भ्रमित पार्ने खालेको रहेको र कतारको मानप्रतिष्ठामा धक्का पुर्याउने प्रकृतिको रहेको बताएका थिए ।

काउन्सीलले विश्वकप फुटवल प्रतियोगिता सुरु भएपछि कतारले विविध संस्कृति भएका हजारौं फुटवल प्रशंसकलाई स्वागत गरेको देखेर यस्ता निराधार आरोप लगाएको निश्कर्ष निकालेको छ । यसैगरी कतिपय संस्थाहरुले कतारको बारेमा असत्य हल्ला फैलाउने, विश्वकप फुटवल प्रतियोगिता २०२२ मा व्यवधान खडा गर्नेगरी अभियान सञ्चालन गर्ने प्रयास गरेको पनि सुरा काउन्सीलको भनाई छ ।

युरोपेली संसदले कतारमा हालै श्रमिकको अधिकार स्थापित गर्न गरिएका सुधारको प्रशंसा गर्दै तिनिहरुको पूर्ण कार्यान्वयन हुनु पर्ने बताएको थियो । कतारले श्रमिकले काम गरेको ज्याला भुक्तानी सुनिश्चित गर्न सन् २०१८ मा कानुन निर्माण गर्दै वर्कर्स सपोर्ट एण्ड ईन्स्योरेन्स फण्ड स्थापना गरेको थियो । सो फण्डबाट ३ करोड २० लाख डलर बरावरको रकम श्रमिकलाई भुक्तानी गरिएको कतारको भनाई छ । युरोपेली संसदले फिफालाई पनि श्रमिक तथा श्रमिकका परिवारलाई सहयोग गर्ने कार्यको नेतृत्व लिन माग गरेको छ । कतारले विश्वकप फुटवल प्रतियोगिता आयोजनाको अधिकार सन् २०१० मा जितेको थियो ।

एम्नेष्टि इन्टरनेशनल लगायतका संस्थाहरुले क्षतिपूर्तिको विषयलाई चर्को रुपमा उठाएपछि कतारले गत नोभेम्वर १ मा यस्तो अनुरोधलाई खारेज गरेको थियो । कतारको श्रम मन्त्रालयले यस्तो अनुरोधको कुनै आधार नरहेको बताएको थियो । कतारका श्रम मन्त्री अली विन शमिख अल मारीले यो केवल हल्ला मात्र चलाइएको तथा यस अगाडी नै कतारले करोडौं डलर रकम ज्याला पाउन नसकेका आप्रवासी श्रमिकलाई भुक्तानी गरिसकिएको बताएका थिए ।

यसअघि फ्रान्सेली फुटवल संघका अध्यक्ष नोएल ली ग्राएटले पश्चिमी सञ्चार माध्यमहरुले कतारमा आयोजना भइरहेको फिफा विश्वकप २०२२ का विरुद्दमा चलाएको अभियान ज्यादा भएको बताएका थिए । उनले फ्रान्समा यस्तै गर्न प्रचलन रहेको समेत बताएको समाचार कतारको अनलाइनले प्रकाशित गरेको थियो । यसैगरी फिफा अध्यक्ष जियानी इन्फान्टीनोले पनि कतारमा मानवअधिकार हननको विषय पश्चिमा सञ्चारमाध्यमहरुले अतिरञ्जित रुपमा उठाएको भन्दै रोष पोखेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय