पूर्व श्रममन्त्री मध्ये कसले कति मतान्तर सहित जिते, कसले हारे चुनाव ?

प्रतिनिधिसभाको निर्वाचनमा होमिएका मध्ये वहालवाला श्रम मन्त्री शेर बहादुर कुँवर अछाम क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । कुँवर नेकपा एमालेका उम्मेदवार झपट बोहरालाई हराउँदै विजयी भएका हुन् । नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहेका कुँवर १९ हजार ५ सय ३४ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी बोहराले १५ हजार ४५ मत पाए ।

यसैगरी पूर्व श्रममन्त्री गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा चुनिएका छन् । नेकपा एमालेका सचिव समेत रहेका विष्टले नेकपा (एकिकृत समाजवादी) की रामकुमारी झाँक्रीलाई दुई हजार बढी मतान्तरले हराए । विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे भनें झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन् ।

यसैगरी पूर्व श्रममन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) बारा ४ बाट निर्वाचित भए । नेकपा (एकिकृत समाजवादी) का नेता श्रेष्ठ सत्ता गठवन्धनका साझा उम्मेदवार थिए । उनी २९ हजार ५ सय ५ मतसहित विजयी भए । नेकपा एमालेका एकवालले १९ हजार ४ सय ३९ मत प्राप्त गरे ।

पूर्व श्रममन्त्री रमेश लेखक सुदुरपश्चिमको कञ्चनपुर क्षेत्र नम्वर ३ बाट विजयी भए । नेपाली काँग्रेसका नेता लेखक ३० हजार ५ सय २३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निरुदेवी पालले १८ हजार ४ सय ४८ मत प्राप्त गरिन् ।

नेपाली काँग्रेसका नेता तथा पूर्व श्रमराज्यमन्त्री टेकबहादुृर गुरुङ मनाङबाट निर्वाचित भएका छन् । तर फौजदारी अभियोगमा मुद्दा चलिरहेका गुरुङ निर्वाचित भएपनि सो मुद्दा किनारा नलागेसम्म संसद प्रवेश गर्न पाउने छैनन् ।

यो समाचार तयार पार्दासम्म पूर्व श्रममन्त्री दिपक बोहोराको क्षेत्रमा मतगणना चलिरहेको छ । रुपन्देही ३ बाट चुनाव लडेका उनले अग्रता लिइरहेका छन् । उनको प्रतिस्पर्धा सत्ता गठवन्धनका साझा उम्मेदवार समेत रहेका गृहमन्त्री बालकृष्ण खाँडसँग रहेको छ ।

तर कैलाली ३ बाट चुनाव लडेका पूर्व श्रममन्त्री गौरीशंकर चौधरी पराजित भए । नेकपा विभाजनपश्चात माओवादी केन्द्रमा नगई नेकपा एमालेमै रहेका चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १ सय २० मत प्राप्त गरी विजयी भए ।

पूर्व श्रममन्त्री मोहम्मद अफताव आलम व्यक्ति हत्याको अभियोगमा जेलमा छन् । यसैगरी पूर्व श्रममन्त्री रामेश्वर राय यादव चुनाव नलड्ने भन्दै पछि सरेका थिए भनें फरमुल्लाह मन्सुर पनि यसपटक चुनावी प्रतिस्पर्धामा छैनन् । पूर्व श्रममन्त्रीहरु सरिता गिरी, कुमार वेल्वासे लगायतका नेता यसपटकको चुनावमा या त उम्मेदवार छैनन् वा उम्मेदवार भएपनि उनीहरु प्रतिस्पर्धामा छैनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय