कोरोना खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै गत वर्षदेखि नै लयमा फर्किएको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार आव २०७९र८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रम स्वीकृति लिएका हुन् । उक्त तथ्याङ्कमा काठमाडौँबाहिर रहेका छवटा श्रम कार्यालयबाट लिइएको पुन: श्रम स्वीकृतिको तथ्याङ्क समावेश गरिएको छैन ।
विभागका अनुसार गत वर्षको साउन महिनामा २५ हजार ४२८ ले श्रम स्वीकृति लिएकामा यो वर्ष ६१ हजार ६३० जनाले लिएका छन् । जुन अघिल्लो वर्षको भन्दा ३५ हजार २०५ जनाले बढी हो । गत साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि कायम रहेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा बिदामा आएर पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या १८ हजारभन्दा बढी रहेको छ भने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत ३७ हजार ६८० र व्यक्तिगत पाँच हजार ७६ श्रमिकले विदेश जान श्रम स्वीकृति लिएका छन् ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुन: वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको विभागका निर्देशक कृष्ण भुसालले जानकारी दिए ।
गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ३ दशमलव ६८ गुणाले वृद्धि भएर छ लाख ३१ हजार २९० पुगेको थियो । आव २०७७र७८ मा एक लाख ६६ हजार ६९८ ले श्रम स्वीकृति लिएका थिए । यस्तै आव २०७६र७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको थियो ।
विभागका अनुसार नेपालको आन्तरिक सिर्जना गर्न नसकेका बेला रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारी कोभिड सङ्क्रमणका कारण दुई वर्ष सुस्त रहे पनि हाल कोभिडअघिकै अवस्थाभन्दा अझ सुधार भएको छ ।
विभागका निर्देशक भुसालले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवा पूर्ण अनलाइन हुनु र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको बताए ।
यो समाचार गोरखापत्रमा छापिएको छ ।