भाग्य जाँचेर रातारात धनी बन्ने सपना देख्दा भएको वर्वादी

अर्जुन काफ्ले, मोरङ्ग
मलेसिया, रोजगारीका लागि जाने नेपालीको एउटा प्रमुख गन्तव्य मुलुक । कानुनमा केहि खुकुलोपन, तुलनात्मक रुपमा खुल्ला समाज र नेपालसँग केहि मिल्दोजुल्दो हावापानीले पनि मलेसिया नेपाली श्रमिकका लागि रोजाईको मुलुक हो । तर त्यहि मलेसियामा रोजगारीबाट कमाएको सम्पूर्ण सम्पत्ती क्यासिनोमा गुमाउने नेपाली श्रमिकको संख्या पनि सानो छैन । रातदिन पसिना बगाएर जोडेको सम्पत्ति क्यासिनोको लतले गुमाउन थालेकाहरुको विचल्ली नै छ । मलेसियाका क्यासिनोमा स्थानीय मलायु समुदायबाहेक अरुलाई प्रवेश सहज छ ।

मलेसियाको पर्यटकीय सहर र राजधानी क्वालालम्पुरका क्यासिनो धाउने नेपालीको संख्या बढ्दै गएको छ । सुन्दर सपना बोकेर रोजगारीका लागि मलेसिया पुगेका कतिपय नेपाली श्रमीक क्यासिनोको लतमा फसेर घर फर्कन नसक्ने अवस्थामा पुगेका छन् । पैसा कमाएर परिवारलाई सुख दिन मलेसिया छिरेका उनीहरु जुवाको लतमा फसेर अवैधानिक भएर समेत बसेका छन् ।

मलेसियाका क्यासिनो धाउने नेपालीको कथा सबैको उस्तै छ । साथीको संगतले क्यासिनो पुगेका मोरङका राकेश शर्मा (नाम परिर्वतन) क्यासिनोकै लतले अवैधानिक भएर काम गरिरहेका छन् । पहिले ग्यान्टिङ्ग हाइलेण्डमा कार्यरत उनी घर जाने पैसा नभएपछि कम्पनी छोडेर भागे । हाल क्वालालम्पुरमा सुरक्षागार्ड रहेका उनी क्यासिनोको लतले पैसा र समय सबै बर्बाद भएको वताउँछन् । ‘साथीको लहैलहैमा क्यासिनो पसियो, त्यसपछि त बानी नै लाग्यो’, उनले भने, ‘यहाँ कमाएको सम्पत्ति सबै क्यासिनोले सक्यो । तलव आएको दिन छुट्टी लिएर क्यासिनो जाने बानी नै लाग्यो ।’

मलेसियाको ग्यान्टिङ्ग हाइलेण्ड पर्यटकीय क्षेत्र हो । सो ठाउँका पाँचतारे होटलमा विदेशीका लागि क्यासिनो खुलेका छन् । स्टार वल्र्ड क्यासिनो, डि ग्यान्टिङ्ग क्यासिनो र ग्यान्टिङ्ग वल्र्ड क्यासिनोमा धेरै नेपाली युवा पस्ने गरेको शर्मा बताउँछन् ।

कम्पनीमा काम गर्दा राकेशले मासिक १६ सय रिङ्गेटसम्म कमाउँथे । क्यासिनोको लतले सबै पैसा सकिएर अवैधानिक रुपमा मलेसियामा बस्न थालेकोमा पछुतो पनि मान्छन् । क्यासिनोको कुलतमा फसेका उनले साथीसँग सापट मागेर खानाको पैसा तिर्नु परेको बताए ।

क्यासिनोले डुवेका राकेश एक्ला नेपाली होइनन् । शुरुमा क्यासिनो पस्दा केही रकम जितेपनि लत बस्दै गएपछि आफूले सबै गुमाएको लमजुङ्गका नरेन्द्र गुरुङ्ग (नाम परिर्वतन) बताउँछन् । क्यासिनोमा सबै पैसा गुमाएपछि क्यासिनो बाहिर निस्कँदा चुरोट खाने पैसा पनि साथमा नहुने गरेको अनुभव उनीसँग छ । ‘तलव आएपछि पहिले हारेको उठाउन जाँदा पुन: गुमाएँ’, गुरुङ भन्छन्, ‘कम्पनीले भिसा नथपेपछि घर जान पैसा नहुँदा अवौधानिक बनेर बसेको छु । पैसा जम्मा गरेर अबचाँहि घर जान्छु ।’ गुरुङ्ग अहिले सेक्युरिटीगार्ड छन् ।

गुरुङ्गसँगै काम गर्ने अन्य युवा पनि क्यासिनोले घर न घाटका भएका छन् । ‘घर जाऊँ भने यतिका वर्ष बसियो, एक पैसो कमाइ छैन’, ४ वर्षदेखि मलेसियामा रहेका काठमाडौंका रमेश क्षेत्री (नाम परिर्वतन) भन्छन्, ‘अब कसरी घर जानु ? क्यासिनोमा पसेदेखि कमाएको सबै यहिं गुमाइसकेँ ।

साथीको लहैलहैमा लागेर उनले डि ग्यान्टिङ्ग क्यासिनोको सदस्यता लिएका छन् । सदस्यता लिनेलाई क्यासिनोले विभिन्न सुविधा दिने गरेको छ । ‘सदस्यता कार्डकै आधारमा क्यासिनोमा डिनर नि:शुल्क खाने व्यावस्था गर्छ । बस्ने कोेठा पनि सस्तो छ’, उनले भने, ‘कतिपय नेपालीले आफुले पाएको कोठा रकम बढाएर अरु पर्यटकलाई भाडामा दिने गरेका छन् ।

मोरङका सुदिप राई रहर रहरैमा क्यासिनो पसे । विस्तारै क्यासिनोको लतमा फसेका उनले घर जाने समयमा जम्मा गरेकोे ३५ सय रिङ्गेट एकै दिन क्यासिनोमा हारे । कम्पनीले घर जान दिएको टिकट समेत सदुपयोग गर्न सकेनन् । क्यासिनोमा पैसा हारे पछि घर फर्कन सकेनन् र साथीको कोठामा वसेका छन् । ‘घरबाट बोलाइरहेका छन्, यहाँ मेरो यस्तो हालत छ’, उनले भने, ‘रोजगारी पनि छैन, साथीको कोठामा आश्रय लिएको छु ।’ एकैपटक धनी बन्ने लोभले जीवन नै बर्बाद पारेकोमा उनी पछुताइरहेका छन् ।

क्यासिनोले नेपाली कामदार वर्वादीतर्फ गईरहेको मलेसियाका श्रमिक अगुवा प्रेम पाण्डे बताउँछन् । साथीको संगत र उच्च महत्वाकाँक्षाका कारण क्यासिनोको लतमा लागेर नेपाली श्रमिक घर फर्किन नसक्ने अवस्थामा पुगेको पाण्डेको भनाइ छ । भाग्य जाँचेर रातारात धनी बन्ने सपना बुनेका नेपालीले आफू र परिवारसमेत बर्बाद गरिरहेको पाण्डेले बताए ।

मलेसियामा नेपाली युवा क्यासिनोमा पस्ने धेरै कारण छन् । नेपालका मेनपावरले धेरै कमाई हुने लोभ देखाएर रोजगारीमा पठाएका युवाले मलेसियामा भनेजस्तो तलब र काम पाउँदैनन् । त्यसैले धेरै कमाउने आशले रोजगारीका लागि मलेसिया छानेकाहरुले क्यासिनोमा धेरै कमाउने आशले सुरु हुन्छ उनीहरुको गलत बाटो । ‘एकजना नेपालीले क्यासिनोमा २ हजार जित्यो भने बजारमा २० हजार जितेको हल्ला फैलिन्छ’ अगुवा श्रमिक पाण्डेले भने, ‘त्यही हल्लाको पछि लागेर नेपाली युवा क्यासिनोमा दौडिएर नाँगेझार भएका छन् ।’

टोटो र म्याग्नममा भाग्य खोज्ने नेपाली
मलेसिया पुगेका नेपाली श्रमिकहरु टोटो म्याग्नम लगायतका चिठ्ठामा पैसा पर्ने लोभमा नेपाली श्रमिकहरु मलेसियामा फसिरहेका छन् । नेपाली श्रमिकहरु फोर डि र सिक्स डि नामका चिठ्ठामा नेपाली श्रमिकले आफ्नो कमाइ सकिरहेका छन् । घर फर्किन नसकेको कारण वताउने सुनसरीका अजय चौधरी मलेसियामा ९ वर्ष देखि रोजगारीमा छन् । उनी मलेसिया पुगेकै वर्ष देखि टोटो लगायतको चिठ्ठामा फसे । कमाइ जति सवै यस्तै कुरामा सकेपछि घरमा पैसा पठाउन सकेका छैनन् । परिवारले जति भनेपनि घर फर्किन र पैसा पठाउन नसकेको उनले बताए । एउटाले जित्यो रे भन्ने हल्लाका कारण धेरै नेपालीले कमाएको सवै गुमाईरहेका छन्, श्रमिक अगुवा पाण्डेले भने, त्यसैले यसका बारेमा ठूलै सचेतना अभियान आवश्यक छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय