वैदेशिक रोजगार कार्यालयमा अस्थायी रोमानियन मिशन स्थापना

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने कामदारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना गरेको छ । रोजगारीका लागि रोमानिया जाने कामदारको आवश्यक भीषा प्रकृयालाई सरल, सहज र पहुँचयोग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना गरेको हो ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मिशन स्थापना गरेको जानकारी गराएको छ । यसअघि रोमानिया जाने नेपालीहरुले उताबाट रोजगारीको लागि सम्झौता पाइसकेपछि भिषा प्राप्तिका लागि आवेदन दिन छिमेकी मुलुक भारतमा रहेको रोमानियन राजदूतावासमा जानुपर्ने अवस्थाका कारण धेरै नेपालीको अतिरिक्त समय र पैसा खर्च हुने गरेको थियो । यस्ता खालका गुनासोलाई सम्बोधन गर्न सम्बद्ध निकायको समन्वयमा नेपाली नागरिकहरुले रोमानियामा प्राप्त गरेका रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि सहज बनाउन मिशन स्थापना गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त मिशनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहने नेपाली नागरिकहरुको भिषा आवेदन प्रकृयाको सहजिकरण गर्नेछ । रोमानियन मिशनले प्रवाह गर्ने सेवा प्रकृयामा श्रम तथा रोजगार कार्यालय, ताहचलले आवश्यक समन्वय गर्नेछ । नेपालबाट रोमानियामा वैदेशिक रोजगारीको सन्दर्भमा जान चाहने नेपाली नागरिकहरुले नेपालमा अस्थायी रुपमा स्थापना गरिएको रोमानियन मिशनले तोकेको भिषा शुल्कबाहेक कहिंकतै कुनै प्रकारको रकम नबुझाउन वा अन्य कुनै पनि प्रकारको प्रलोभनमा नपर्न सम्बद्ध सबैमा मन्त्रालयले अनुरोध गरेको छ ।

यसैगरी रोमानियन अधिकारीहरुसँग चिनजान छ भनी वा अन्य कुनै प्रकारबाट नेपाली नागरिकलाई प्रलोभनमा पारी कुनै प्रकारबाट ठगी गरेमा वा रकम असुल गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने भएको हुँदा कसैले पनि यस्ता गैरकानूनी कृयाकलापमा संलग्न नहुन र कोही यस्ता गैरकानूनी कृयाकलापमा संलग्न भएको सूचना कसैसँग भएमा यस मन्त्रालयमा रहेको कल सेन्टर १६६००१५०००५ वा ११४१ मा सम्पर्क गरी त्यस्तो सूचना दिन मन्त्रालयले अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको पहिचान पूर्ण रुपमा गोप्य रहने मन्त्रालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: