मेनपावर कम्पनीमा छापा मारी ८७ थान राहदानी जफत

वैदेशिक रोजगार विभागले काठमाडौंमा म्यानपावरमा छापा मार्दा ८७ थान राहदानी (पासपोर्ट) जफत गरेको छ । विहिवार दिउँसो सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट कम्पनीमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावर कम्पनीका कागजात फेला परे पछि ८७ थान पासपोर्ट जफत गरिएको हो ।

छापा मारिएको म्यानपावर कम्पनीमा अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रकृया अगाडि बढाइएको पासपोर्ट भेटिएपछि विभागको अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले ८७ थान पासपोर्ट जफत गरेको हो।

सो म्यानपावर कम्पनीमा किङ फिस नामक म्यानपावर कम्पनीमार्फत मलेसियामा रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएको अधिकृत अर्यालले बताए । त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान रहेको अधिकृत अर्यालले जानकारी दिए ।

ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशन बिना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली छापा मार्न पुगेको थियो। म्यानपावर कम्पनीले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अर्यालले बताए । विभागले छापा मार्दा किङ फिस म्यानपावरबाट वैदेशिक रोजगारीका लागि शुक्रवारको उडानमा २३ जना युवाहरु मलेसिया जाने तरखरमा थिए ।

त्यसरी मलेसिया जान लागेका युवाहरुलाई विभागको टोलीले मलेसिया जान म्यानपावरलाई कति शुल्क दिएको भनेर सोधेपछि उनिहरुले कुनै पनि शुल्क नबुझाएको जिकिर गरेका थिए। त्यस्तै म्यानपावर कम्पनीका कर्मचारीहरूले पनि उक्त म्यानपावरले फ्रि भिसा फ्रि टिकटमै मलेसिया पठाइरहेको दाबी गरेका छन्।

यस बारेमा विभागले थप अध्ययन गर्ने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने अधिकृत अर्यालले बताए ।
त्यसैगरी, विभागले बुधवार मात्रै कतार पठाउन मोटो रकम लिने गरेको गुनासो आएपछि अल ताक्वेत ओभरसिज नेपाल प्रालिमा छापा मारी कागजातहरु नियन्त्रण लिएको छ । उक्त म्यानपावर कम्पनीमाथि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । दुवै म्यानपावर कम्पनीहरुलाई विभागले थप अनुसन्धान गरेर वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय