श्रमिक अस्पतालका लागि २० अर्व लागत, २५ विगाह जग्गा प्राप्तीको प्रयास गर्न सुझाव

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक अस्पताल स्थापना गर्न गठित अध्ययन टोलीले सो अस्पताल निर्माणका लागि २० अर्व लागत लाग्ने सहितको १३ बुँदे सुझाव मन्त्रालयमा बुझाएको छ । मन्त्रालयका सहसचिव दिपक काफ्ले नेतृत्वमा गठित टोलीले त्यसका लागि २५ विगाह जग्गा आवश्यक पर्ने पनि जनाएको छ ।

अध्ययन टोलीले ५ सय देखि १ हजार वेड क्षमताको अस्पताल निर्माण गर्न १० विगाह जग्गा आवश्यक पर्ने भएपनि दीर्घकालिन आवश्यकताको दृष्टिले २५ विगाहसम्म जग्गा उपयुक्त हुने निश्कर्ष निकालेको छ । तर जग्गाकै कारण निर्माण कार्य रोक्न नहुने र अहिलेलाई ५ विगाह जग्गा उपलब्ध भएको ठाउँमा पनि अस्पताल निर्माणको काम सुरु गर्न सकिने सुझाव छ ।

तत्कालिन श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि श्रमिकको उपचारका लागि छुट्टै श्रमिक अस्पताल सञ्चालन गर्ने योजना अगाडी सारेका थिए । त्यसका लागि मन्त्रीपरीषद बैठकले अध्ययन गर्न सैद्दान्तिक सहमति दिएको थियो । सो अध्ययन गर्न गठित टोलीले आइतवार श्रम मन्त्री शेरबहादुर कुँवरलाई श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको सम्भाव्यता अध्ययन गरेर मन्त्री कुँवरलाई प्रतिवेदन बुझाएको हो ।

अध्ययन टोलीले तयार पारेको प्रतिवेदनमा श्रमिक अस्पतालको आवश्यकता, स्थापनाका उदेश्य, औचित्य, नेपालमा अस्पताल निर्माणमा भएका प्रयास, कार्यादेश, स्रोत व्यवस्थापन, सम्भाव्यता र चुनौतिहरु उल्लेख गरेको छ । कार्यदलले अस्पताल निर्माणका लागि विराटनगर, बारा र भैरहवामा स्थलगत छलफल र अध्ययन समेत गरेको थियो । नेपाल सरकारले श्रम अस्पताल निमार्णका लागि दिएको सैद्धान्तिक सहमति तथा कार्यदलले सरकारवाला निकायसँग पटक पटक गरेको छलफलले अस्पतालको आवश्यकता पुष्टि भएकाले यथाशिघ्र अस्पताल निर्माणको काम अगाडी बढाउन उपयुक्त हुने कार्यदलका संयोजक रहेका श्रम मन्त्रालयका सहसचिव दिपक काफ्लेले बताए ।

कार्यदलले तत्काल श्रमिक अस्पताल निर्माण तथा सञ्चालन गठन आदेश जारी गरी जग्गा प्राप्तिको प्रशासनिक कार्य टुंगाएर अस्पताल विकासका आवश्यक काम अगाडी बढाउन मन्त्रालय अन्तरगत श्रमिक अस्पताल विकास परियोजना कार्यालय स्थापना गरी कार्यसम्पादन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ । कार्यदलले श्रमिक अस्पताल स्थापनका लागि कुन स्थान उपयुक्त हुन्छ भन्नेबारेमा खोजी र अस्पताल सञ्चालन विधिका बारेमा विभिन्न निकायको परामर्श र सुझावलाई प्रतिवेदनमा उल्लेख गरेको छ ।

नेपाल सरकारले २०७८ फागुन ५ को मन्त्रिपरिषद् बैठकबाट नेपालमा श्रमिक अस्पताल स्थापनाको काम अघि बढाउने निर्णय गरेको थियो । यसका लागि श्रम मन्त्रालयलाई जिम्मेवारी दिइएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय