चार बर्षमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षामा आवद्द गर्ने लक्ष्य

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले आगामी चार बर्ष भित्रमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्द गराउने लक्ष्य सहित देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । वैदेशिक रोजगारीमा रहेकाहरु, सवै प्रकृतिको ज्याला रोजगारी र स्वरोजगारीमा रहेका श्रमिकहरु गरी २० लाख श्रमिकलाई कोषमा जोड्न सकिने जिफन्टको ठहर छ । यसका लागि लक्ष्य २० लाख (टार्गेट २ मिलियन) अभियान सञ्चालन गर्ने जिफन्टको योजना छ ।

जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनले पारीत गरेको आगामी चार बर्षको कार्यक्रम प्रस्तुत गर्दै नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले स्वास्थ्य बिमाको प्रचार गर्ने, उपचारमा सहयोग गर्ने र प्रिमियम संकलनमा हस्तक्षेप गर्ने योजना पनि बनाएको जानकारी दिए ।

यसैगरी जिफन्टले विभिन्न कलेजका विद्यार्थीहरुलाई होटल, चेन रेष्टुराँ र मार्टहरुमा तालिमेका नाममा शुल्क लिएर ईन्टर्नशिप गराइने गरेको भन्दै यो अन्यायपूर्ण काम भएकाले त्यसरी काम गर्नेहरुलाई तलव दिलाउने अभियान पनि चलाउने निर्णय गरेको छ । तालिमेलाई तलव नामको सो अभियान हाल भइरहेको किशोर श्रम शोषण रोक्न श्रम ऐनको प्रावधान अनुसार अभियान सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए ।

ज्याला रोजगारीलाई मर्यादित बनाउने, श्रम अडिट कार्यान्वयन गर्न दवाव सिर्जना गर्ने लगायतका अभियानहरु प्नि सञ्चालन गर्ने जिफन्टले जनाएको छ । यसैगरी पालिका तहमा श्रमिक पञ्जिकरणका लागि पनि तिव्रता दिने जिफन्टले कार्यक्रम पारीत गरेको छ ।

वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई अन्यायमा पर्न नदिन सीमा पारीको समस्या: संगठन र सफलता भन्ने कार्यक्रम पनि जिफन्टले सञ्चालन गर्नेछ । युवा र महिलालाई ट्रेड यूनियन आन्दोलनमा जोड्न पनि अभियानहरु नै सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसैबीच जिफन्टको काठमाडौंमा सम्पन्न भएको आठौं राष्ट्रिय महाधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी चयन गरेको छ । अधिवेशनले उपाध्यक्षहरुमा विदुर कार्की, जनक चौधरी, जितेन्द्र श्रेष्ठ, कमल गौतम, मञ्जु कुमारी थापा मगर र सीता लामा चयन गरेको छ । महासचिवमा लक्ष्मण शर्मा चयन भएका छन् । उपमहासचिवहरुमा नरनाथ लुईंटेल र पदेन उपमहासचिवमा कमला तामाङ चयन भए । सचिवहरुमा हरि बहादुर कार्की, कृष्ण बहादुर केसी, स्मृति लामा, महेन्द्र लाल श्रेष्ठ, बेलीमाया घले, तारानिधि पन्त र पदेन सचिवमा विजया खड्का चयन भए ।

साउन ७ गतेदेखि १० गतेसम्म आयोजना भएको महाधिवेशनमा देशभरीका झण्डै ५ सय प्रतिनिधिहरु सहभागि थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: