‘ईन्टर्न’ माथिको शोषण रोक्न यूनियनले अभियान सुरु गर्ने, पालिकामा श्रमिक दर्ता गर्नै पर्ने

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले ईन्टर्न (तालिमे) को नाममा श्रमिकमाथि शोषण भइरहेको भन्दै यसका विरुद्दमा अभियान चलाउने भएको छ । जिफन्टले आठौं महाधिवेशन पछि सञ्चालन गर्ने एउटा मुख्य अभियान यसलाई नै बनाउने भएको हो । यसले श्रम बजारमा भइरहेको एउटा शोषणको अन्त्य हुने जिफन्टको निश्कर्ष छ ।

जिफन्टको आगामी साउन ७ देखि १० गतेसम्म हुने आठौं राष्ट्रिय महाधिवेशनको तयारीका सम्वन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले ईन्टर्नको नाममा विना पैसा काममा लगाउने मात्र नभई कतिपय प्रतिष्ठानमा उल्टै शुल्क असुल्नु गम्भीर श्रम शोषण भएको बताए । उनले ईन्टर्नलाई पनि ज्याला दिनु पर्दछ भन्ने अभियान जिफन्टले सुरु गर्ने जानकारी दिंदै यसले प्रतिफलपूर्ण रोजगारीको विषयलाई अगाडी बढाउने बताए ।

यसैगरी नेपालमा कति श्रमिक छन् भन्ने तथ्याङ्क नै नभएका कारण जिफन्टले श्रमिकलाई स्थानीय तहमा सूचिकरणका लागि दवावकारी अभियान पनि सञ्चालन गर्ने भएको छ । यसका लागि हरेक पालिकामा जिफन्टले कम्तिमा तीनजना यूनियनका नेता परिचालन गर्ने । उनीहरु मार्फत पालिकामा सो पालिकामा रहेका श्रमिकलाई दर्ता गर्ने योजना जिफन्टले बनाएको छ । “यसका लागि देशका ७ सय ५३ वटै पालिकाहरुमा जिफन्टका अगुवा नेताहरु परिचालित हुनेछन्”, जिफन्ट अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा भने, “यसले देशव्यापी रुपमा एउटा अभियान सञ्चालन हुनेछ ।”

श्रमजीवि वर्गको सम्मान र समृद्दिका लागि सुदृढ र परिपूर्ण लोकतन्त्र भन्ने मुल नाराका साथ आगामी साउन ७ गते गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको सूर्योदय हलमा सुरु हुने जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । बाँकी तीन दिनको बन्दसत्र राष्ट्रिय सभागृहमा हुनेछ ।

चारदिनसम्म चल्ने महाधिवेशनमा जिफन्ट आवद्ध २१ वटा यूनियनहरु र जिफन्टका सातवटै प्रदेशहरुका गरी ५ सय १२ जना प्रतिनिधिहरुले भाग लिनेछन् । यसमध्ये एक तिहाई भन्दा बढी महिला प्रतिनिधि रहने जिफन्टका महासचिव जनक चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए । महाधिवेशनमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, लाओस्, ईटली, ईण्डोनेशिया, मलेसिया, स्वीडेन, जिम्वावे, बहराइन, फ्रान्स, टर्की र ईजरायलका गरी ३५ जना विदेशी प्रतिनिधिहरु पनि सहभागि हुनेछन् ।

महाधिवेशनमा मुल नितिगत दस्तावेज तथा जिफन्टले गर्दै आएको कामको विवेचना गरिनेछ । यसैगरी आगामी चार बर्ष जिफन्टको कायाकल्प भन्ने कार्यक्रम तय गर्ने योजना पनि जिफन्टले बनाएको छ । महाधिवेशनले आगामी चार बर्षका लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: