वैदेशिक रोजगार दिर्घकालिन हुन्न: मन्त्री श्रेष्ठ

श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठले सवै यूवालाई सदैव वैदेशिक रोजगारमा पठाउनु समस्याका समाधानको उपाय नभएको बताएका छन् । उनले वैदेशिक रोजगारलाई केहि बर्षका लागि उपयोग गर्नुपर्ने भन्दै मुलुकमै रोजगारी सिर्जना नै सरकारको प्राथमिकता भएको बताए ।

आप्रवासी महिला कामदार समूह (आमकास नेपाल) ले अन्तराष्ट्रिय घरेलु श्रमिक दिवसको सन्दर्भ पारेर आयोजना गरेको घरेलु कामदारको राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा अहिले पनि ठूलो संख्यामा अदक्ष श्रमिक जाने गरेको बताए । वैदेशिक रोजगारमा जानेहरुलाई दक्ष बनाएर पठाउन सके व्यक्ति र मुलुक दुवैलाई फाइदा हुने भन्दै उनले वैदेशिक रोजगारमा गएर सिकेको सीपलाई नेपालमा उपयोग गर्ने वातावरण बनाउन पनि जरुरी रहेको धारणा राखे ।

मन्त्री श्रेष्ठले श्रमिकले दु:ख पाउनु भएन, श्रमिक ठगिनु भएन भन्ने हिसावमा सरकारले काम गरिरहेको भन्दै कोभिडको समस्याका बीचमा वैदेशिक रोजगारमा रहेका महिलाहरुको उद्दारमा आमकास नेपालले खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले दलालहरुले सधै सोझसाझा, अप्ठ्यारो परेकाहरु, गरिवीको चपेटामा परेका, श्रीमान श्रीमतिबीच झगडा परेका महिलाहरुलाई गैरकानुनी बाटो हुँदै घरेलु श्रमिकका रुपमा काम गर्न विदेश पठाउने र समस्यामा पार्ने गरेको बताए ।

कार्यक्रममा बोल्दै महिला आयोगकी सदस्य कृष्ण कुमारी खतिवडाले घरेलु श्रमिकलाई सुरक्षित बनाउन आवश्यक भएको धारणा राखिन् । उनले घरेलु श्रमलाई मर्यादित बनाउन सरकारले अझ बढी काम गर्न आवश्यक रहेको धारणा राखिन् । स्वदेश फर्केकाहरुको व्यवस्थापनमा सरकारले अहिले भन्दा प्रभावकारी रुपमा काम गर्न आवश्यक रहेको भन्दै यसमा महिला आयोगले पहल प्रयत्न गर्ने प्रतिवद्दता जनाइन् ।

कार्यक्रममा मानव बेचविखन अनुसन्धान व्यूरोका प्रवक्ता दान बहादुर मल्लले घरेलु श्रमिकका रुपमा काम गर्न जान बन्देज लगाएपछि अवैधानिक बाटो भएर जानेहरुको संख्या बढेको र त्यसरी जानेहरु बढी समस्यामा परेको बताए । उनले हरेक नागरिक वर्दी नलगाएको प्रहरी भएको भन्दै वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन सवैले पहल गर्नुपर्ने धारणा राखे । उनले वैदेशिक रोजगारमा जान चाहनेहरुलाई पनि वैधानिक बाटो भएर मात्र जान आग्रह गर्दै त्यसरी जानेहरु कुनै समस्यामा परेमा सम्वन्धित मेनपावर कम्पनीलाई विद्यमान कानुन अन्तर्गत कारवाही गर्न र उद्दारमा सहजता हुने विचार प्रकट गरे ।

कार्यक्रममा वैदेशिक रोजगारबाट फर्केर आ आफ्नो विभिन्न जिल्लाहरुमा राम्रो काम गरेका ८ जना महिलालाई सम्मान गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय