हेलचेक्रयाईंका कारण कार्यस्थलमा हुने दुर्घटना रोक्न सकिन्छ: जिफन्ट

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले देशभरी विभिन्न स्थानहरुमा कार्यक्रमहरु आयोजना गरी अन्तराष्ट्रिय श्रमिक स्मृति दिवस मनाएको छ । स्वस्थ र सुरक्षित कार्यस्थल श्रमिकको अधिकार भन्ने नारा सहित जिफन्टले विभिन्न स्थानमा भेला, छलफल आयोजना गरी दिवस मनाएको हो ।

काठमाडौंमा जिफन्ट केन्द्रीय कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले हेलचेक्रयाईंका कारण कार्यस्थलमा हुने दुर्घटना रोक्न सकिने भन्दै यस तर्फ सवै जिम्मेवार निकायले पहल प्रयत्न गर्न आवश्यक रहेको धारणा राखे । आफ्नो कार्यस्थल सुरक्षित बनाउनु खर्च नभई लगानी भएको कुरा रोजगारदाताहरुलाई बुझाउन अझ धेरै काम गर्न जरुरी रहेको उनको भनाई थियो ।

अध्यक्ष श्रेष्ठले हिजोको दिनको तुलनामा अहिले कतिपय विषयमा परिवर्तन भएको भन्दै त्यसका लागि यूनियनहरुले ठूलो मेहनत गरेको स्मरण गरे । निर्माण क्षेत्रका श्रमिकहरुले विगतमा खाली खुट्टा काम गर्ने गरेकोमा हाल हेल्मेट, जुत्ता, पञ्जा जस्ता सुरक्षा सामग्री लगाएर काम गर्ने गरेको उनको भनाई थियो । यो, श्रमिकको स्वास्थ्य सुरक्षाका दृष्टिकोणले उपलव्धी भएको र यसमा क्यूपेक नेपालको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा देशका सवै ७ सय ५३ वटै पालिकाहरुमा मजदूरलाई माया गर्ने जनप्रतिनिधिहरुलाई विजयी गराउन खटिन उनले जिफन्टकर्मीहरुलाई निर्देशन पनि दिए । पालिकाको नेतृत्वमा रहेकाहरु मजदूर मैत्री नहुँदा कस्तो समस्या आईपर्दछ भन्ने विषय कोभिड १९ को समयमा नै देखिइसकेको भन्दै अध्यक्ष श्रेष्ठले संकटको समयमा मजदूर भन्दा पनि आफ्नो मतदाता हो वा होइन भनेर अधिकाँश पालिकाहरुले व्यवहार गरेको बताए । त्यसैले मजदुरलाई माया गर्नेहरुलाई पालिकाको नेतृत्वमा पुर्याउन आवश्यक रहेको उनको भनाई थियो ।

सो अवशरमा जिफन्ट महासचिव जनक चौधरीले जिफन्टले कामको अधिकारलाई मौलिक हकको रुपमा स्थापित गर्न चाहेको धारणा राखे । उनले विगतमा केपी ओली नेतृत्वको सरकारले न्यूनतम एक सय दिनको रोजगारी ग्यारेण्टी गरेको र रोजगारी प्राप्त गर्न नसक्नेहरुका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको स्मरण गरे । उनले दुर्घटनाका कारण ज्यान गुमाएकाहरु र अंंगभंग भएका श्रमिकहरुलाई स्मरण गर्ने दिनका रुपमा मनाईंदै आएको श्रमिक स्मृति दिवसलाई जिफन्टले हरेक बर्ष मनाउँदै आएको पनि जानकारी गराए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: