दैनिक सरदर १७ सय ६५ नेपाली रोजगारीका लागि विदेशिंदै

कोभिड-१९ संक्रमण ओरालो लागेको पछिल्लो समयमा नेपालबाट दैनिक सरदर १ हजार ७ सय ६५ नेपाली रोजगारीका लागि विदेशिएका छन् । २०७८ साउन देखि चैत्र मसान्तसम्म अर्थात पछिल्लो ९ महिनाको तथ्याङ्कले यस्तो देखाएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउन देखि चैत्र मसान्तभित्रमा नयाँ श्रम स्वीकृति लिने र पुन: श्रम स्वीकृति लिएर जाने गरी कुल ४ लाख ६५ हजार व्यक्ति रोजगारीका लागि विदेशिएका छन् । यो सरदरमा प्रतिदिन १ हजार ७ सय ६५ हुन आउँछ । वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख रमेश अर्यालले वैदेशिक रोजगारमा जानेहरुको संख्या बढेपनि अनलाइन मार्फत नै सेवा दिन थालिएका कारण कार्यालयमा भिडभाड नभएका कारण सहज भएको बताए । गत माघ महिना देखि नै पुन: श्रम स्वीकृति अनलाइन मार्फत दिन थालिएकोमा गत बैशाख २ गतेदेखि संस्थागत (मेनपावर कम्पनी मार्फत) रुपमा वैदेशिक रोजगारमा जानेहरुका लागि श्रम स्वीकृति अनलाइन मार्फत नै दिन थालिएको र निकट भविष्यमा नै व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइन मार्फत नै प्रदान गरिने बताए ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत फागुनमा नेपालबाट विभिन्न मुलुकहरुमा ५३ हजार भन्दा बढी नेपाली गएको देखिएको छ । विगत दुई बर्षयता कोभिड–१९ का कारण वैदेशिक रोजगारमा जानेहरुको संख्यामा ठूलो गिरावट आएको थियो ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत फागुन महिनामा श्रम स्वीकृति लिएर ५३ हजार ४ सय ५७ जना नेपाली विदेशिएका छन् । त्यसमध्ये २६ हजार ४ सय २४ नयाँ हुन् भने अन्य पुन: श्रम स्वीकृति लिएर गएकाहरु तथा वैधानिकरण गरेकाहरु रहेका छन् । रोजगारीका लागि विदेशिएका नयाँ २६ हजार मध्ये ३ हजार २९ जना महिला रहेको विभागको तथ्याङ्क छ ।

गत बर्ष फागुन महिनामा केवल १९ हजार ८ सय ८ जना मात्र वैदेशिक रोजगारमा गएका थिए । कोभिड १९ का कारण विभिन्न वन्देजहरु रहेका कारण तथा गन्तव्य मुलुकमा पनि रोजगारीमा आएको संकुचनका कारण विदेश जानेहरुको संख्या उल्लेख्य घटेको थियो ।

गत माघ महिनाको तथ्याँकले पनि नेपालबाट वैदेशिक रोजगारमा जानेहरुको संख्यामा उल्लेख्य बृद्दि भएको देखाएको छ । विभागको तथ्याँक अनुसार माघ महिनामा नेपालबाट श्रम स्वीकृति लिएर ५४ हजार ४ सय ७० जना विदेशिएका छन् । यसरी जाने मध्ये ३१ हजार ६ सय ४ जना नयाँ रहेका छन् । रोजगारीका लागि विदेशिएका कुल श्रमशक्ति मध्ये २ हजार ७ य ५ जना महिला रहेका छन् ।

माघ महिनामा पनि नेपालीको प्रमुख तीन गन्तव्य मुलुकहरुमा साउदी अरव, कतार र युएई नै रहेको छ । सो महिनामा साउदी अरवमा १९ हजार ८ सय ३१ ज्ना, कतारमा १४ हजार ७ सय ५१ जना तथा युएईमा ११ हजार ३ सय ३ जना रोजगारीका लागि गएका हुन् ।

केहि बर्ष अगाडीसम्म नेपालीको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियामा भनें पछिल्लो समयमा नेपाली श्रमिक न्यून मात्रामा गइरहेका छन् । लामो समयसम्म बन्द हुनु र कोभिड–१९ को संक्रमण पश्चात पनि सो मुलुकले विदेशी श्रमिक लिन धेरै महिना देखि लगाएको बन्देजका कारण मलेसिया जाने नेपालीको संख्या न्यून भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: